मंसिर १८, २०७८ शनिबार

उल्लिखित शीर्षक पढ्दा नै अचम्म लाग्यो होला ; यो कस्तो औषधि हो भनेर ! यो औषधि कुन अवस्थामा प्रयोग गरिन्छ भन्ने धेरैलाई त थाहा पनि होला !

७२ घण्टे औषधिको प्रयोग र असर जानेबुझेका तपाईँ र म जस्ता व्यक्तिहरू पनि खुलेर बोल्न सकिरहेका हुन्नौँ भने हाम्रो समाजमा त यसबारे अधिक् अनभिज्ञ नै छन् ; उनीहरूले झन् बोल्न सक्ने कुरै आएन ।


प्रस्तुत लेखलाई थप भूमिकामार्फत बुझाउन खोजिँदै छ । एकछिन कल्पना गरौँ है ! एउटा यस्तो परिवेश जहाँ अझै पनि महिनावारीमा लगाउने स्यानिटरी प्याड त केटी मान्छेले निर्धक्क भएर किन्न सकिरहेका छैनन् । किन्यो भने पनि पेपरमा लुकाएर हिँड्छन् । ढाकेर, छोपेर हिँड्छन् र लाज पनि मान्छन् । 'म महिनावारी भएकी छु है' भनेर निर्धक्कसँग भन्न सकिरहेका छैनन् । यस्तो अवस्थामा एउटी केटी निर्धक्क भएर कुनै संकोचविना '७२ घण्टे औषधि' अर्थात् इकोन किनिरहेकी छे र त्यसको सेवन गर्छे भने हरकोही व्यक्ति उसबारे धारणा बनाउन सक्ला ! यस्तो अवस्थामा केही महिलाहरु समाजको परिबन्धबाट बाहिर आउने प्रयास गरिरहेका छन् भनेर पनि बुझ्न सकिएला ! 


उल्लिखित कुराहरू पढेपछि अब तपाईँलाई यथार्थतातिर डोर्‍याउन चाहन्छु । जुन यात्राले धेरै कुराको अनुभव गराउनेछ, तयार रहनूस् !
                           
कथा यसरी शुरू हुन्छ । एकताका म ललितपुरको एउटा परिचित फार्मेसीमा जागीरे थिएँ । दिउँसो १२ बजेदेखि साँझ आठ बजेसम्मको मेरि ड्युटी हुन्थ्यो । सधैँ साँझको समयमा म फार्मेसीमा हुन्थेँ । भदौ महिनाको एक साँझ करिब साढे सात बजिसकेको हुँदो हो । सधैंजसो म त्यो दिन पनि काउन्टर नजिकैको कुर्सीमा बसेर काम गरिरहेको थिएँ, आफ्नै धूनमा । त्यही समयमा "एक्सक्युज मि सर........, तपाईँसँग इकोन छ ?" भन्ने आवाज सुनेँ । 

कम्युटरको किबोर्डमा औँला राखेर मनिटरमा औषधिको स्टक हेर्न घोत्लिएको म, जुरुक्क उठेर टाउको सीधा पारेँ । एकछिन ट्वाल्ल परें। तत्काल जवाफ दिनलाई बोली नै निस्किन मेरो ।        
 
करिब साढे पाँच फिटभन्दा अग्ली, मुखमा स्काई ब्लु पेपर मास्क, कालो जिन्सको पाइन्टसँग सेतामा कालो धर्के सर्ट लगाएकी केटी सामुन्नेमा थिइ । मगमग बास्ना आइरहेको थियो, सायद विदेशी अत्तरको हुँदो हो ।

"सर....!" उनले अनुरोध गरेको शैलीमा मलाई भनिन् । सायद ! मैले एकोहोरो उनलाई हेरेको हुनाले होला । मैले दायाँ हातले ओठ माथिको जुँगा मिलाएझैँ गरी "हजुर भन्नुस् न...म्याम" भन्दै अघिको कुरा नसुनेझैँ गरेँ ।

"इकोन छ सर ?.... ७२ घण्टे क्या !" उनले फेरि सोधिन् । मैले ठट्यौली पारामा भनेँ, "नाइँ ! छैन कि"

मैले भनेको कुरा उनले बुझिनन् वा नबुझेको नक्कल गरिन्, र फेरि  "हजुर के भन्नु भको ?" भनेर विस्तारै  सोधिन् । "हजुरहरू कै सेवा गर्न त यो झिसमिसे साँझमा म छु। झन् फार्मेसीमा आइसकेपछि इकोन नपाइने कुरो नि हुन्छ त ?" म यत्ति भनेर मुस्कुराएँ मात्र । उनले टाउको हल्लाइन् !

 
एकैछिन तपाईँको ध्यान अर्को घटनातर्फ मोड्न चाहन्छु है ! म फार्मेसीमा जागीर सुरुवात गर्दाको समयमा केटीहरूले "प्याड दिनुस् न !...." भन्दा लजाउँथे । भेजाइनल वासहरू माग्दा केही नबोलेरै दिन्थेँ । एकदिन एउटी पैँतीस नाघेकी आइमाइले "म्यानफोर्स कण्डम दिनुस्..... वा कुनै अर्को काँडावाला छ भने त्यो दिनुस् है" भनेर नाम तोकेरै भन्दा रातोपिरो भएको मान्छे आज बडो जिस्किरहेछु सोचेँ । काम गर्दै जाँदाको अनुभव धेरै भएर होला लज्जा र डर हराइसकेछ मेरो । अनि त्यही वेला कताकता आफ्नो पेशामा परिपक्व भएको महसुस पनि गर्न थालेँ ।

 
अब फेरि इकोनका कुरा.......... उनले भनिन् "कति वटा छ तपाईँसँग ?" र आफै फेरि सजिलो तरिकाले भनिन् "तपाईँको फार्मेसीमा कति वटा इकोन छ सर अहिले.....?"

"कति वटा छ ?" भनेर किन सोधेकी होलिन् उनले मलाई भनेर एकछिन सोच्न बाध्य बनायो उनको प्रश्नले ।  मेरो मनमा यही कुरा खेल्दै गर्दा "तपाईँलाई कतिवटा चाहिने हो?" प्रश्नको जवाफमा मैले पनि उनलाई प्रश्न गरेँ । उनले अलिकति उत्साहित हुँदै ढुक्कसँग जवाफ दिँदै भनिन् "फार्मेसीमा जति छ सबै मलाई चाहिन्छ।" मैले तत्कालै "मजाक नगर्नुस् न मिस......" भनेर हल्का रुखो स्वरमा भनें । उनी फेरि पनि "मजाक होइन साँच्चै नै चाहिरहेको छ मलाई" भन्न थालिन् । सवाल-जवाफ अलि बढी नै हुँदै गयो ।


"केही पिस लिनुस्, धेरै दिन त गाह्रो पर्छ", भनेर उनलाई सम्झाउने प्रयास गरेँ तर उनले मानिनन् । झन प्रस्ताव राखेरै  भनिन् "पचासवटाभन्दा धेरै चाहिन्छ मलाई ।" मैले अचम्मित हुँदै भनेँ "तपाईं पनि इकोनको किनबेच गर्नुहुन्छ, हो ?" त्यसपछि उनले हाँस्दै भनिन् "हैन.... म बेच्ने काम गर्दिनँ । तर किन्ने कामचाहिँ गर्छु"

म झन् अचम्मित हुन थालेँ। मेरो मनमा अनेक कुरा खेल्न थाले। "सर, धेरै नसोच्नुस्, बरु जति छन् मलाई दिनुस्",म चुप भएको देखेर उनले भनिन् ।

"मिस..... हाम्रो इथिक्सले एउटै व्यक्तिलाई व्यक्तिगत प्रयोगका लागी धेरै बिक्री गर्न मिल्दैन" मैले अलिकति कडा तरिकाले भनेपछि, "खोलामा बगाउनुस् तपाईँको इथिक्स, अरू कतै इथिक्स देख्दिनँ । यहीँमात्र रैछ इथिक्स । पैसा कमाउनुस् सर पैसा" भन्दै अघिको भन्दा अलिकति फरक शैलीमा उनले जवाफ दिइन् । औषधि भरिएका र्‍याकहरूमा यताउता नजर डुलाउन थालिन् । मानौँ कि उनी केही खोजिरहेकी छिन्।
                

अँध्यारो बढिरहेको थियो। साँझ छिप्पिँदै थियो। उनलाई कि त सबै चाहिने, कि पचासभन्दा बढी चाहियो भन्छिन् ! म सबै दिने मुडमा थिएन। दुई चारवटा उनले नलिने सङ्केत गरिसकेकी थिइन्। तर पनि पेशाप्रति ईमानदारिता त देखाउनै पर्‍यो नि ! "पैसा त आज नभए नि भोलि कमाउला मिस तर तपाईँलाई यस्को धेरै प्रयोगले हुने असरका बारेमा थाहा छ ?" मैले ढुक्क साथ उनलाई सोधेँ ।

सानो ब्यागबाट मोबाइल झिकेर,"साइड एफेक्ट्स अफ कन्ट्रासेप्टिभ पिल्स" लेखिएको एउटा फोटोको स्क्रिनसट मलाई देखाइन् उनले ; जसमा आठ/दस वटा  बुँदामा इकोनको धेरै प्रयोगले महिलाको शरीरमा देखिनसक्ने असरहरूका बारेमा लेखिएको थियो ।

म निशब्द भएँ। मनमनै लाग्यो जानकारी त रहेछ ! यतिका असरको बारेमा बुझेर पनि किन सेवन गर्नमा लागेकी रहिछिन्। बजारमा गर्भ निरोधक र सुरक्षित यौन सम्पर्कका थुप्रै उपायहरू छन् । किन अन्य उपायहरूको प्रयोग नगरेकी होलिन् ? यस्तै प्रश्नमाथि प्रश्न मनमा जाग्न थाले। यसैबीचमा "सबै जान्दाजान्दै किन आफ्नो स्वास्थ्य दाउमा लगाउनु हुन्छ ?" विनम्र भएर मैले सोधेँ। "सबै सोचेका कुरा पुग्ने र जानेका कुरा गर्ने भए म यहाँ हुन्थेन र तपाईँ त्यहाँ हुनुहुन्थेन होला हैन र ?" ब्यागमा मोबाइल राखिरहेको अवस्थामै मैले गरेको प्रश्नको ब्याजसहित मलाई प्रतिप्रश्न तेर्साइन् । मैले न जवाफ पाएँ, न हो भन्न सकेँ, न त हैन नै भन्न सकेँ ।

कामभन्दा कुरा धेरै भनेजस्तै भइरहेको थियो । उनी पनि हतारिरहेको सङ्केत गर्दै थिइन् । मलाई पनि समयमै फार्मेसी बन्द गर्नु थियो । तर, दोधारमा थिएँ म। यति लामो कुराकानी भयो। रित्तो हात कसरी पठाऊँ ? दुई चारवटा उनले लिन नमान्ने ; कि सबै, कि पचासबढी चाहिने। के गरौं ? के नगरौं ? म दोधारमा थिएँ । यतिकैमा म बोलेँ "मिस...म केही प्रश्न गर्न सक्छु ?" शान्त माहौलमा मैले प्रस्ताव राखेँ । उनले आँखा झिम्काउँदै हुन्छ भन्ने सङ्केत गरिन् । मैले उनलाई सिधै भनेँ,"सही जवाफमात्र दिनुहुन्छ त ? 

मास्कलाई तल सारिन्, लामो स्वास तानिन् र  केही सहज भएको महसुस गरी एकछिन केही सोचिन् र "दिन्छु तर एउटा सर्त छ" भनेर मलाई हेरिन् । मैले पनि हतार नगरी,"भन्नुस्,कस्तो सर्त हो" भनेर नजिकै को बोत्तलको पानी पिएँ । सर्तका कुरा गर्न थालेपछि। "मान्नु हुन्छ त मेरो सर्त" भन्दै अलि नजिक आएर भन्न थालिन् । मैले पनि धेरै सोचिनँ र "हुन्छ...मान्छु तर साँचो भन्नुपर्छ" भनेर कुरा अगाडि बढाउन थालेँ। "तपाईँले जे-जे सोध्नु हुन्छ म सरासर जवाफ दिन्छु तर तपाईँलाई सही लागोस् वा नलागोस् मलाई पचासबढी इकोनचाहिँ दिनै पर्छ, यहि हो मेरो सर्त।" उनी यति भनेर, खुशीसाथ मज्जाले हाँस्न थालिन् ।
                
तत्कालै "यो कस्तो सर्त हो ? यस्तो नि सर्त हुन्छ त ?" मैले अलिकति उत्तेजित हुँदै भनेँ। जवाफमा "शान्त रहनुस् सर, शान्त रहनुस्,आशा छ तपाईँ आफ्नो बचनमा पक्का हुनुहुन्छ।" मसँग अब उनले जे बोले पनि जवाफ सुन्नुबाहेक अरू विकल्प थिएन।

अलिकति अगाडी सरेँ । उनको सामुन्ने बायाँपट्टि उभिएँ। उनको मुहारमा खुशी प्रस्टै झल्किरहेको थियो। "तपाईँको ब्वाइफ्रेण्ड छ ?" पहिलो प्रश्न राखेँ। "हि..हि.. हि.. गरेर हाँस्दै बायाँ हातले मुख छोपिन् । तर मलाई अचम्म लाग्यो उनी हाँसेको देखेर। "म विवाहित हो सर" उनले आफ्नो हाँसोलाई एकछिन् रोकेर हाँस्नुको कारण खोलिन् । "कहिलेदेखि यो ७२ घण्टे खान थाल्नुभको ?" भनेर मैले दोस्रो प्रश्न सोधेँ। उभिएर थाकिछिन् सायद, नजिकैको कुर्सीमा थचक्क बसिन् र भनिन् "सोह्र बर्सकी थिएँ सायद, पहिलो सम्भोगपछि ब्वाइफ्रेण्डले खुवाएको थियो। थाहा थिएन त्यसवेला यसको उपयोग। अन्जानमै खुवाएपछि खाइयो। आजभोलि जानेर आफैले खाइन्छ। बिहे भएको नै नौँ वर्ष भइसक्यो। यति नै वर्ष भयो निरन्तर रूपमा खान थालेको भनेर नभनौं होला। मात्र यति बुझ्नुस धेरै नै भयो।" उनको जवाफ सत्य वा असत्य के हो त्यो त उनैलाई थाहा होला। तर जवाफ दिने वेलाको त्यस भावले केही गम्भीर इसारा दिइरहेको थियो, जुन मैले त्यस वेला बुझ्न सकिनँ ।

 "तपाईँको बच्चा/बच्ची छैनन् र ? अन्य गर्भनिरोधक उपाए किन नअपनाउनुभएको ?" हातमा एउटा इकोनको चक्की समाएर मैले उनीतिर हेर्दै सोधेँ। उनले मेरो हातबाट इकोन खोसिन् र त्यसको नाम पढेर भनिन्,"हो यही आइपिल हो, जुन मैले मेरो पहिलो सम्भोगपछि खाएकी थिएँ ।" अनि आफै "अँ, साँच्ची  ! अघिको प्रश्नको जवाफ दिनै भुलेछु, मेरो बच्चा/बच्ची छैनन् । "सर...अब त दिनुहोला है ! आधा घण्टाभन्दा बढी भइसक्यो म आएको पनि" केही नम्र, शान्त अनि हतारिएको स्वरमा उनले मतिर हेर्दै भनिन् । र्‍याकबाट तीन डिब्बा झिकेर गन्न थालेँ र जम्मा यति भयो भनेर हिसाब देखाएँ। उनले हिसाबभन्दा तीन सय बढी दिइन् । मैले फिर्ता गर्न खोजेँ, उनले "पर्दैन यो तपाईँ नै राख्नुस्" भनिन् । 
 

घडीमा आठभन्दा बढी बजिसकेको थियो । फार्मेसी बन्द गरेँ । उनले पनि सहयोग गरिन् ।


हामी निस्किनै लाग्दा "कता बस्नु हुन्छ नि ?",भनेर सोधेँ। "नजिकै हो, सनराइज अपार्टमेन्ट छेउअछाउ मै बस्छु, अनि हजुर नि ?" उनले जवाफ र प्रश्न सँगै दिइन् । "ए ए....म चाँहि एकान्तकुनातिर बस्छु" मैले भनेँ। 

"सर, हजुरले त एउटा कुरा सोध्नै भुल्नु भए छ नि।" उनले हिँडिरहेका पाइलालाई टक्क रोकेर मतिर हेर्दै भनिन्। "हैन, के कुरा सोध्न भुले छु?" भनेर म पनि रोकिएँ। उनले,"महत्त्वपूर्ण र खास कुरो त सोध्नै भुल्नु भएछ त ? भनिन् । "के कुरा होला त त्यस्तो खास" भनेर म हाँसे। उनले अलि गम्भीर मुडमा "मेरो बुढोको बारेमा सोध्न भुल्नु भयो नि तपाईं ?" भनिन् । उनी भन्दै गइन् "मेरो बूढो गल्फमा बस्नु हुन्छ, पाँच वर्ष भयो । म पनि तीन वर्षदेखि गल्फमै बस्छु, तर अलग कन्ट्री हो । म दुई महिनाअघि नेपाल आएकी हुँ । मेरी बुढी आमालाई भेट्न। उहाँ (श्रीमान) पनि आउने कुरा थियो। सायद कम्पनीले बिदा दिएन, उहाँ आउनुभएन । विहे भएको चार वर्ष बितिसक्दा पनि हाम्रो बच्चा भएन । उहाँ त्यतिकैमा गल्फ भासिनु भयो। सोचेको जस्तो नहुँदो रहेछ जिन्दगीमा। जतिसुकै आस्था र आत्मबल बोके पनि शरीरको आवस्यकताका अगाडि सबै आस्था र विश्वासका पहाडहरू ढलिदिने रहेछन् र शारीरिक सुख नै एक अन्तिम लक्ष्य हो कि जस्तो पनि लाग्ने रहेछ एक मोडमा पुगेपछि । अलिकति शारीरिक सुख प्राप्ति र जिविकोपार्जनका लागि निश्चित काम गर्दै तिन वर्ष बितेको पत्तो भएन परदेशमा।" उनी भावनामा डुबेर गहिरो सास तान्दै आफ्ना जीवनका भोगाइहरू साँटिरहेकी थिइन् ।

"एउटा सन्तानलाई जन्म दिएर हुर्काउने, आमा बन्ने ठूलो रहर छ मेरो । र अर्को कुरा, मलाई अक्सर साधन लगाएर सम्भोग गर्दा आनन्द महसुस पनि लाग्दैन। अनि श्रीमानसँग टाढिएको पाँच वर्ष नै भइसक्यो। आज मेरो अन्तिम बसाइँ हो नेपाल। भोलि फेरि उही गल्फ कन्ट्री नै जाँदै छु। अनि यो इकोन मैले केही मेरा साथिहरूले मगाएको भएकाले पनि लैजान आँटेकी हुँ, उता अलि महङ्गो पर्छ । जो नेपालबाट जान्छ ऊसँग मगाउँछन् । खाडीको गर्मीमा आफ्नो जवानी पगाल्ने विचरी ती दिदीबहिनीहरूलाई अलिकति बचेको आफ्नो यौवनको उपभोग गर्न मन लाग्दो हो। एकछिनलाई जवानीको आनन्द लिन पनि कति गाह्रो, यसको सहारा लिनै पर्ने।"

 यतिकैमा "तपाईँको नम्बर दिनुस् न, भोलि एअरपोर्टमा हजुरलाई कल गर्छु" उनले मलाई अनुरोध गरिन् । सरासर नम्बर भनेँ। उनले नम्बर मोबाइलमा टिप्दै गर्दा घडी पनि हेर्न भ्याइछिन् । "ओहो ! नौँ बज्न थालेछ, घरमा आमा पर्खिराख्नु भएको होला, हजुरसँग कुरा गर्दागर्दै समय बितेको पत्तो नै भएन भन्या" उनले अतालिएजसरी मतिर हेर्दै सरासर हिँडिन् । एक पटक पछाडि फर्किइन्। बाई नभने पनि हात हल्लाएर बाईको इसारा गरिन् । एक शब्द बाई पनि भन्न सकिनन् बिचरीले ! म पनि धेरै बेर उनलाई हेर्न नसके पछि एकान्तकुनको बाटोतर्फ विस्तारै मोडिएँ र अघि बढेँ। बाटोमा हिँड्दै गर्दा शुरूदेखि अन्तिम सम्म उनीसँग गरेका कुराकानीहरू सम्झिएँ। उनले विदेशिएका नारीका बारेमा गरेका कुराले कता-कता मनमा चसक्क पनि भयो। यस्तो नि हुन्छ होला र ? भन्ने प्रश्न पनि आफूले आफैलाई गरेँ । उनको व्यक्तिगत जीवनको उतारचढाव सम्झिएँ। उनको आमा बन्ने रहर पनि सम्झिएँं। अरू दिनभन्दा आज मेरा पाइलाहरू विस्तारै अघि बढिरहेका थिए । मनमा अनेक प्रश्नहरू अझै उब्जिरहेका थिए। ७२ घण्टे किन्न आएकी उनले केही दु:खका, केही आशाका, केही जीवन भोगाइका पलहरू अनि केही शारीरिक सन्तुष्टिका कुराहरु सुनाएर गइन् । म यिनै कुरा सोच्दै गर्दा नक्खु दोबाटो पुगेको थिएँ । सायद ! प्रोफेसनमा उनी नै पहिलो र अन्तिम होलिन्,जो इकोन किन्न आएर अपरिचित भए पनि साथीजस्तै बनेर आफ्ना जीवनका केही कुराहरू आफ्नै मान्छेजसरी सुनाएर गइन् । तर म त उनको नाम सोध्न पो बिर्सिएछु, न त उनले नै मेरो सोधिन् ।  ✍️जीवन शाही "यायावरजी"