कात्तिक २३, २०८३ मंगलबार

महोत्तरी, २३  कात्तिकः मिथिला क्षेत्रमा सोमवती अमावस्या पर्व मनाइएको छ । औँसी तिथिमा सूर्योदय हुँदा यो पर्व मनाइने मैथिल परम्परा छ । पर्वका अवसरमा मिथिलावासीले आज बिहानै धार्मिक महत्वका नदी र तलाउमा पवित्र स्नान गरेर सोमवती अमावस्या मनाएका छन् ।

    मिथिलामा सोमवती अमावस्या अत्यन्त पवित्र दिन मानिन्छ । त्यस दिन पवित्र जलाशयमा स्नान गरेर पिपल वृक्षको पूजाआराधना गर्दै दान र श्राद्ध गरिने परम्परा छ । यस दिनको पवित्र स्नान, पिपल वृक्षको पूजा, दान र श्राद्ध अक्षय पूण्य फल दिने मानिएको मैथिल लोकपरम्पराका ज्ञाता तथा मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । 

    हिजो आइतबार बिहान ११ः०० बज्नअघि नै लागेको औँसी तिथिको भोग आज सोमबार बिहान ११ बजेर ३३ मिनटसम्म रहेको छ । आज बिहानको सूर्योदय यसै तिथि परेपछि सोमवती अमावस्या पर्व मनाइएको झाले स्पष्ट पार्नुभयो ।

    मैथिलले आज सोमवती अमावस्याका अवसरमा बिहान महोत्तरीका धार्मिक महत्वका रातु ठाकुर र माण्डवीगङ्गा नदी  एबं जलेश्वरस्थित पुरन्दरसर, वरुणसर, भार्गवसर, मटिहानीस्थित लक्ष्मीसागर, बलवा–९ स्थित ध्रुवकुण्ड  र कञ्चनवनसहितका धार्मिकस्थलमा पवित्र स्नान सम्पन्न गरेर पिपल वृक्षको पूजा गरेका छन्् । 

    अमावस्या र सोमबार दुवै भगवान् शिवप्रति समर्पित हुने र पिपल वृक्ष भगवान् विष्णुको स्थान मानिने शास्त्रीय मान्यताले यो पर्वले दुवै इष्टदेवको स्मरण हुने मैथिल कर्मकाण्डका अर्का ज्ञाता भङ्गाहा–५ सिद्धपुरका बासिन्दा पाका मैथिल ७० वर्षीय रामनारायण झाको भनाइ छ ।

    गत शुक्रबार कात्तिक कृष्ण त्रयोदशीको प्रारम्भसँगै सुरु भएको दीपावली पर्वकै बीच आज सोमवती अमावस्या पर्व परेको हो । दीपावली पर्वको लक्ष्मीपूजा आइतबार साँझदेखि नै गरिएको छ । औँसी तिथिकै गौपूजा (गाईपूजा) भने आज औँसीको भोगभित्र गरिने छ ।
 
    भोलि मङ्गलबार मैथिल परम्पराको गोधन र बुधबार भैयादूज मनाइएपछि यसपालिको मैथिल परम्पराको दीपावली पर्व सम्पन्न गरिने छ ।