कञ्चनपुर, २५ कात्तिकः रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् ।
माटो, खर र काठले आकर्षक बनाएका घर रानाथारु समुदायको पहिचान हो । घर निमार्णमा प्रयोग हुने सामग्रीले रानाथारु समुदायको मौलिक जीवनशैली, संस्कृति र रहनसहन झल्काउने गर्दथ्यो ।
तर आजभोलि यस्ता परम्परागत घर विरलै देख्न पाइन्छ । रानाथारु समुदायमा अहिले परम्परागत घरको सट्टा पक्की घरहरु निर्माण भइरहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना बताउनुहुन्छ ।
“घर निमार्णका लागि ठुलठुला सालका खम्बाहरु आवश्यक हुन्छ ।”, रानाले भन्नुभयो, “पहिला जस्तो जङ्गलबाट काठ ल्याउन पाइँदैन यसकारण परम्परागत घर निर्माण हुन छोडेका हुन् ।”
परम्परागत घरको निर्माणमा स्थानीय स्रोतसाधन र परम्परागत सीपको प्रयोग हुने गरेको छ । घरका भित्ता, छाना, आँगन र कोठाको बनावटसमेत समुदायको मौलिक विशेषतासँग जोडिएका उहाँको भनाइ छ ।
“घर निमार्णमा प्रयोग भएका काठ दश÷पन्ध्र वर्षपछि किरा लागेर कुहिन सुरु हुन्छ त्यसपछि फेर्नुपर्छ ।”, रानाले भन्नुभयो, “काठ पाउन मुस्किल हुने, पाइहाले पनि दश÷पन्ध्र वर्षपछि फेरि अर्को ल्याउनुपर्ने झन्झटका कारण पनि अहिलेको पुस्ताले आधुनिक घर निर्माण गर्न लागेका हुन् ।”
घर मात्र नभई रानाथारु समुदायको परम्परागत पहिरन, दैनिक प्रयोगमा आउने घरमै निर्मित भाँडासमेत लोप हुँदै गएको उहाँको भनाइ छ । रानाथारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन घगरिया, अङ्गिया, उनियाँ अहिले लोप हँुदै गएका छन् ।
“घर मात्रै होइन, रानाथारु समुदायका परम्परागत पहरिनसमेत लोप हुँदै गएका छन् ।” यहाँका स्थानीय सुदा रानाले भन्नुभयो, “परम्परागत पहिरन सिउने मान्छेसमेत भेटाउन गाह्रो हुन्छ ।”
उहाँका अनुसार अहिले रानाथारु समुदायको परम्परागत पहिरन शुभकार्यमा मात्रै देख्न सकिन्छ ।
रानाथारु समुदायमा आधुनिकताको प्रभाव परम्परागत घरमा मात्रै नभई यो समुदायले मनाउने पर्वमा समेत पर्न थालेको रानाथारु समुदायका अगुवा पशुराम राना बताउँछन् । “हिउँदमा तातो हुने गर्मी सिजनमा चिसो हुने परम्परागत घरको विशेषता हो ।” उहाँले भन्नुभयो, “अहिले परम्परागत घरहरु निर्माण हुँदैनन्, आधुनिकताको प्रभाव हाम्रा पर्वमा समेत परेको छ ।”
उहाँले रानाथारु समुदायको महिनाँैसम्म चल्ने होली, तीज लगायतका पर्व छोट्टिँदै गएको बताउनुभयो । महिला जस्तै पुरुषले पनि धोती र कुर्ता लगाउँथे, तर गाउँमा एक÷दुई जना बुढापाकाबाहेक अहिले कसैले पनि यस्तो लुगा नलगाउने उहाँको भनाइ छ ।
यो समुदायले प्रयोग गर्ने अन्न भण्डारण गर्नका लागि माटाबाट निर्मित भकारी लगायतका सामानहरु लोप हुँदै गएका छन् ।
पछिल्लो समय परिवारको आर्थिक अवस्था सुधार हुँदै जानु, आधुनिक सुविधा सहितका घरप्रति नयाँ पुस्ताको आकर्षण बढ्नु र परम्परागत निर्माण सामग्रीको उपलब्धता घट्नुजस्ता कारणले यस समुदायमा मौलिक घर निर्माण गर्ने चलन घट्दै गएको छ ।