पेशावर, २५ कात्तिक (रासस/एपी): पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा बुधबार लडाकुहरूले प्रहरीका सवारी साधनलाई लक्षित गरी आक्रमण गरेका छन् । त्यसपछि भएको गोली हानाहानमा कम्तीमा १० प्रहरीको मृत्यु भएको अधिकारीले जनाएका छन् ।
स्थानीय प्रहरी अधिकारी फैसल खानका अनुसार अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको कोहात जिल्लामा उक्त आक्रमण भएको हो ।
उहाँले मृतक प्रहरीमध्ये दुई जना वरिष्ठ अधिकृत रहेको बताउनुभयो । सुरक्षा बल र आक्रमणकारीबीच गोली हानाहान जारी रहेको पनि उहाँले जानकारी दिनुभयो । यद्यपि, घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन ।
आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । यद्यपि, यसमा ‘तहरिक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) को संलग्नता रहेको आशङ्का गरिएको छ । उक्त समूहले पछिल्ला महिनाहरूमा यस क्षेत्रमा सुरक्षा बलमाथिका आक्रमण तीव्र बनाउँदै आएको छ ।
पाकिस्तानमा पछिल्ला वर्षहरूमा हिंसात्मक घटनामा वृद्धि भएको छ । यस्ता घटनाका लागि अधिकांशतः टीटीपीलाई जिम्मेवार ठह¥याइने गरिएको छ । यो समूह अफगान तालिबानभन्दा फरक भए पनि उनीहरूसँग निकट सम्बन्ध राख्छ । सन् २०२१ मा अफगान तालिबान छिमेकी मुलुक अफगानिस्तानको सत्तामा पुनः फर्किएको थियो ।
पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारमाथि टीटीपीका लडाकुलाई आफ्नो भूमिमा आश्रय दिएको आरोप लगाउँदै आएको छ । तर काबुलले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।