कात्तिक २७, २०८३ शुक्रबार

काठमाडौँ, २७ कात्तिकः राजधानी काठमाडौँ सहरमा प्रत्येक वर्ष छठ बर्तालुुको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

 

  भगवान् सूर्यदेव र नदीको श्रद्धा भक्तिपूर्वक पूजा, आराधना गरी मनाइने छठ पर्वका लागि बर्तालु राजधानीका छठ घाटमा स्थान खोज्न व्यस्त छन् । राजधानीमा करिब डेढ दर्जन स्थानमा भव्य रुपमा छठ पर्व मनाइने गरिएको छ ।

 

  कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व राजधानीमै मनाउनेको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छठ पूजा समिति गुह्येश्वरीले जनाएको छ । 

 

गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती नदी किनारमा यस वर्ष ६०० छठ घाटको व्यवस्था गरिएको समितिका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिनुभयो ।

 

विगत वर्षमा यहाँ ५५० छठ घाट निर्माण गरिएको थियो । निर्माण गरिएका सबै छठ घाट भाइटीका अघि नै ‘बुक’ भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले पनि दैनिक फोन र स्थलगत रुपमा कार्यालयमै आइ छठ घाट खोज्नेहरु आइरहेका छन् । गौरीघाटबाट गुह्येश्वरीस्थित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयअघिका नदी किनारसम्म छठ घाट निर्माण गरिएको छ । 

 

त्यस क्षेत्रको वाग्मती किनारमा प्रत्येक वर्ष छठ घाट निर्माणस्थल विस्तार भएर गइरहेको छ । गत वर्ष गुह्येश्वरी मन्दिरअघिसम्म मात्र छठ घाट निर्माण गरिएको थियो । गत वर्ष बनाएका छठ घाटले नपुगेपछि यस वर्ष करिब ५० वटा छठ घाट वृद्धि गरिएको छ । वृद्धि गरिएको घाट पनि ‘बुक’ भएर थप माग भइरहेको समितिले जनाएको छ ।

 

  दुई दशकअघिसम्म राजधानीमा मधेसी समुदायले मात्र छठ व्रत बसी पूजा, आराधना गरेकामा पछिल्लो समय अन्य समुदायको पनि सहभागिता बढ्न थालेको हो । अहिले छठ मनाउनेमध्ये करिब २१ प्रतिशत मधेसी समुदायबाहेक रहेको अभिलेख पनि समितिले राखेको छ ।

  

 छठको व्रत विधि आजदेखि सुरु

 

छठ पर्वका सन्दर्भमा आजैदेखि कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बस्ने गरिन्छ । आजदेखि छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरोआदि नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।

 

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । 

 

  विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउने गरिँदैआएको छ । 

 

रानीपोखरीमा भूकम्पपछिको पुनर्निर्माणसँगै छठ मनाउन बन्द भएको छ । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदीकिनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो । कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । 

 

  त्यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका रणेन्द्र कुशवाहाले बताउनुभयो । उहाँले भन्नुभयो, “षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाई र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ ।” 

 

  षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

 

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ः०० बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । 

 

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्त लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको रीता यादव बताउनुहुन्छ ।

 

  उहाँले भन्नुभयो, “पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो ।”

   

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । 

 

सन्तान प्राप्तिको कामनाले व्रत गर्ने धेरै 

 

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ ।

 

सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वर वधु प्राप्तिको कामना गर्ने प्रचलन छ । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि उल्लेख्य रहेको पाइन्छ ।

  

छठ पूजा समिति गुह्येश्वरीका उपाध्यक्ष राजकुमार पोद्दार सन्तान प्राप्तिको कामनाले छठ व्रत गर्नेहरु बढिरहेको बताउनुहुन्छ । छालासँग सम्बन्धित रोगबाट मुक्तिको कामनाले व्रत गर्ने दोस्रो नम्बरमा हुने गरेका छन् । अन्य कामनाले व्रत गर्नेहरु पनि छन् ।

  

  उक्त पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्वीको समेत सहभागिता रहने गरेको छ । कमलपोखरी, गुह्येश्वरीलगायत काठमाडौँमा निर्माण भएका छठ घाटमा बौद्ध, जैन र मुस्लिम धर्मावलम्बी पनि सूर्यदेवको पूजा, आराधनाका लागि आउने गरेका छन् । यसरी छठ पर्व धार्मिक सहिष्णुताको प्रतीक पनि बन्न सफल भएको छ ।

 

  राजधानीका गुह्येश्वरी, कमलपोखरी, टेकु, वंशीघाट, बल्खुलगायत वाग्मती र विष्णुमती नदी किनारमा छठ घाट निर्माण गरी आकर्षक रुपमा सजाउन थालिएको छ । छठ घाट निर्माण भइरहेका स्थलमा अहिले स्थानका लागि स्थान लिन जानेको घुइँचो देखिन्छ ।

 

छठ व्रतको शास्त्रीय एवं पौराणिक मान्यता

 

  सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई पूजा, आराधना गरेका थिए । पाण्डव विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकथरी मत छ ।                 

  

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको अर्काथरीको भनाइ छ । 

 

यसैबीच, गुह्येश्वरी क्षेत्रको छठ घाट निर्माणका क्रममा यस क्षेत्रको वाग्मती नदी पनि सफाइ गरिएको छ । अधिकार सम्पन्न वाग्मती समितिले नै यस क्षेत्रको वाग्मतीमा डोजर लगाएर सफाइ गर्ने र बालुवा एवं माटो सम्याउने काम सम्पन्न गरेको छ ।

 

  यसैगरी, कमलपोखरीमा पनि छठ घाट निर्माण भइरहेको  कमलपोखरी छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहले राससलाई जानकारी दिनुभयो । दुवै स्थानमा कात्तिक २९ गते बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ ।

उहाँले अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्वको शुभारम्भ गर्नुहुने जनाइएको छ । यस वर्ष कात्तिक २९ गते आइतबार बेलुकी अस्ताउँदो र कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको छ । सूर्यलाई अघ्र्य दिएसँगै चार दिने छठ पर्व समापन हुनेछ ।