खोटाङ, २७ कात्तिकः साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ । परिवारदेखि छुट्टिएर एक्लै बाँझेच्यानडाँडाको रातमाटेस्थित गोठमा बस्दै आउनुभएका वृद्ध राई बुधबार गोठमा मृत फेला पर्नुभएको हो ।
करिब एक वर्षदेखि गोठमा बसेर सुन्तलाखेती र सुङ्गुरपालन गर्दै आउनुभएका राई आफैँले अगेनामा बालेको आगो गोठमा सल्किँदा जलेर उहाँको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष हेमन राईले जानकारी दिनुभयो ।
“दुई छोरा र दुई छोरीका बुबा धिरजबहादुर राई विगत एक वर्षदेखि एक्लै गोठमा बस्दै आउनुभएको थियो । घरदेखि टाढा रहेको बारीमा गोठ बनाएर बस्नुभएका उहाँ आज मृत फेला पर्नुभयो”, उहाँले भन्नुभयो, “एकान्त ठाउँमा घटना भएकाले कुन समयमा के भएर आगलागी भयो भन्ने खुलेको छैन । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ ।”
बाँझेच्यानडाँडामा भएको घटनाको जानकारी पाएलगत्तै जिल्लाबाट टोली पठाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।