मस्को, २८ कात्तिक (रासस/सिन्ह्वा): रुसले शनिबार सुदूरपूर्वी क्षेत्रमा रहेको भोस्तोच्नी अन्तरिक्ष केन्द्रबाट ‘सोयुज–२.१बी’ रकेटमार्फत निजी क्षेत्रका कम्पनीले विकास गरेका दुई पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण गरेको छ ।
रुसको राष्ट्रिय अन्तरिक्ष परियोजनाअन्तर्गत निजी क्षेत्रका उपग्रह प्रक्षेपणका लागि सरकारी अनुदान प्राप्त भएको यो पहिलो अवसर हो ।
रुसको सरकारी अन्तरिक्ष निगम ‘रोस्कोस्मोस’का अनुसार, ‘प्रोग्रेस रकेट स्पेस सेन्टर’ले निर्माण गरेको उक्त रकेट मस्को समयअनुसार शनिबार बिहान ४ बजेर १६ मिनेटमा प्रक्षेपण गरिएको थियो ।
रकेटले ‘एमटी–ल्याब’ कम्पनीले विकास गरेको ‘कोएन’ र ‘स्पुतनिक ग्रुप’ले निर्माण गरेको ‘किनोस्पुतनिक’ उपग्रह बोकेको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, निजी कम्पनीहरूले विकास गरेका उपग्रहलाई मुख्य पेलोडका रूपमा राखेर गरिएको यो रुसको पहिलो प्रक्षेपण हो । यसलाई देशको अन्तरिक्ष क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।