कात्तिक २९, २०८३ आइतबार

नेपालगञ्ज (बाँके), २९ कात्तिकः साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण वैदेशिक रोजगारीमा जान नपाएपछि स्वदेशमै बाख्रापालन सुरु गर्नुभएका राप्तीसोनारी गाउँपालिका–६ का डम्बर बुढाक्षेत्री अहिले यसै व्यवसायबाट आत्मनिर्भर बन्नुभएको छ ।

    उहाँले अहिले ६० भन्दा बढी स्थानीय खरी जातका बाख्रा पाल्नुभएको छ । बाख्रापालनबाट हालसम्म रु तीन लाख आम्दानी गर्नुभएका उहाँले पुरानो ऋण चुक्ता गर्नाका साथै दुई छोराको पढाइ खर्च र पारिवारिक आवश्यकता पूरा गर्दै आउनुभएको छ ।

    वर्षमा आठदेखि १० वटासम्म खसी बिक्री गर्दै आउनुभएका उहाँले यस वर्ष रु पाँच लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गर्नुभएको छ । माउ बाख्रा बिक्री नगरी सङ्ख्या बढाउने योजनामा रहनुभएका उहाँका अनुसार खसी बिक्री गर्न बजारको समस्या छैन । सहकारीले खसी खरिद गर्ने र आवश्यक पर्दा अग्रिम रकम उपलब्ध गराउने भएकाले कारोबार सहज भएको छ ।

    वैदेशिक रोजगारीमा जाने योजना सफल नभएपछि बाख्रापालनमा लाग्नुभएका बुढाक्षेत्रीले पारिवारिक समस्याका कारण बीचमा यो व्यवसाय छाडेर तीन वर्ष भारतमा बिताउनुपरेको थियो । बुबाआमाको उपचार र निधनपछि लागेको ऋण तिर्न भारत जानुभएका उहाँ फर्किएपछि पुनः पशुपालनमा सक्रिय हुनुभयो । पहिले आठवटा भैँसी पनि पाल्नुभएका उहाँले पछि भैँसी बिक्री गरेर बाख्रापालनलाई प्राथमिकता दिनुभयो । पशुपालनबाटै ऋण चुक्ता गर्न सफल भएको उहाँले बताउनुभयो ।

    “म यसैमा सन्तुष्ट छु । विदेश गएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छैन,” उहाँले भन्नुभयो ।

    आफ्नो क्षमता र अवस्थाअनुसार सानो लगानीबाट व्यवसाय सुरु गर्नुपर्ने सुझाव दिँदै उहाँले अरूको देखासिकी गरेर एकैपटक ठूलो लगानी गर्न नहुने बताउनुभयो । बाख्रापालनलाई नै आफ्नो भविष्यको आधार बनाउनुभएका उहाँले स्थानीय जातका बाख्राको सङ्ख्या बढाउने योजना बनाउनुभएको छ ।