मलेसिया ट्रान्जिटहुँदै जापान हिँडेका ३४ जना नेपालीलाई मलेसियाली अध्यागन विभागले फर्काइदिएको छ । उडानसम्बन्धी नियमहरू परिवर्तन गरिएका कारण जापान जानबाट रोकिएका ३६ नेपालीमध्ये ३४ जना नेपाल फर्किएको र २ जना मलेसियास्थित नेपाली दूतावासको पहलमा जापान नै गएका छन् ।
जापानले कोभिडको ओमिक्रोन भेरियन्ट देखिएपछि अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेकोे थियो । नेपाल फर्काइएकाहरू हिमालय एयरलाइन्स र मालिन्दो एयरलाइन्सबाट काठमाडौं फर्काइएको मलेसियास्थित नेपाली दूतावासका श्रम सहचारी प्रकाश पन्थीले जानकारी दिए ।
जापान सरकारले ओमिक्रोन भेरियन्ट फैलिएपछि हवाई नियम परिवर्तन गरेका कारण उनीहरूलाई फर्काइएको उनले बताए । उनले मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा दूतावासको हटलाइनमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
दूतावासले मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सबैलाई गन्तव्य मुलुकमा प्रवेशसम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्ला नियमहरूको जानकारी लिएर मात्र टिकट लिन आग्रह गरेको छ । दक्षिण अफ्रिकाहुँदै कोभिड–१९ को ओमिक्रोन भेरियन्ट संसारका विभिन्न मुलुकहरूमा फैलिँदै गएको छ ।