कात्तिक २९, २०८३ आइतबार

खोटाङ, २९ कात्तिकः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत कोशी प्रदेशस्तरीय पुरुष फुटबल छनोट प्रतियोगितामा खोटाङ र झापा फाइनलमा प्रवेश गरेका छन् । 

    सुनसरीको धरानमा आज आयोजित पहिलो सेमिफाइनल खेलमा धनकुटालाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै खोटाङ फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खोटाङका योगेन राईले खेलको २५औँ र २९औँ मिनेटमा गोल गरेका थिए भने, धनकुटाका दिपेन शाक्यले खेलको ११औँ र निप्रम्बा राईले ५०औँ मिनेटमा गोल गरेका थिए । 

    निर्धारित समयमा बराबरी भएपछि खेलको निर्णय ट्राइबेकरमार्फत गरिएको हो । ट्राइबेकरमार्फत छिनोफानो गरिएको प्रतियोगितामा धनकुटालाई ३–२ गोलले पराजित गर्दै खोटाङले फाइनल यात्रा तय गरेको जिल्ला फुटबल सङ्घ खोटाङका प्रशिक्षक भानु राईले जानकारी दिए । 

    फाइनल प्रदेश गरेको खोटाङले सोमबार फाइनल खेलमा झापासँग प्रतिस्पर्धा गर्ने छ । आजै भएको दोस्रो सेमिफाइनल खेलमा सङ्खुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो । 

    कोशी प्रदेश फुटबल सङ्घले खेलाडीको प्रदर्शनका आधारमा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्नेछ । प्रदेशस्तरीय छनोटमा परेका खेलाडीले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन् । 

    यही गत कात्तिक २७ गतेदेखि सुनसरीको धरानस्थित एन्फा खेलमैदानमा कोशी प्रदेशस्तरीय पुरुष फुटबल छनोट प्रतियोगिता सञ्चालन भएको हो । प्रदेशस्तरीय पुरुष फुटबल खेलाडी छनोट प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहेको थियो ।