राष्ट्रिय बाघ सर्वेक्षण, २०७८ को उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले चोरी शिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताएका छन्।
उनले बाघको बासस्थानमा सङ्कुचन, आहारा प्रजातिको कमी, हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गरे।
बाघको मुख्य बासस्थानमा निर्माण हुने सडक, रेलमार्गलगायत भौतिक पूर्वाधार निर्माण जस्ता कार्यले बाघ संरक्षणमा चुनौती थपिएको उनको भनाइ थियो। सरकारले बाघ संरक्षणलाई विशेष प्रथामिकता दिएको भन्दै उनले संरक्षणकर्मी, स्थानीय तह, सामुदायिक वन, संरक्षण क्षेत्र, नागरिक समाजलगायत मिलेर यसको संरक्षण गर्नु आवश्यक रहेको बताए।
सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए। त्यतिवेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लाफाँटामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए। यो सङ्ख्या बढेको अनुमान गरिएको छ। सन् २०१० मा रसियाको सेन्ट पिटर्सवगमा भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्याउने प्रतिवद्धता व्यक्त गरेको थियो।
तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो। दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए। सो प्रतिबद्धता पूरा भएको अनुमान सरोकारवालाले गरेका छन्। नेपालमा हरेक चार पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ। रासस