मंसिर २, २०८३ बुधबार

फाइल फाेटाे

काठमाडौँ, २ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत एलिमिनेटर खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनायो । 

    उसका लागि ओपनिङ ब्याटर कामिल मिशाराले शतकीय पारी खेले । उनले ५९ बलमा १० छक्का र पाँच चौकासहित अविजित १२० रनको पारी खेलेका हुन् । योसँगै मिशारा जारी एनपिएलमा शतकीय पारी खेल्ने दोस्रो ब्याटर बनेका छन् ।

    यस्तै, आज कप्तान रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५३ रनको पारी खेलेका हुन् । देव खनालले १५ बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे । 

    काठमान्डुका लागि बलिङतर्फ कप्तान करण केसी र रशिद खानले समान २–२ विकेट लिए ।  आजको खेलको विजेता टोलीले क्वालिफायर–२ मा क्वालिफायर–१ को पराजित टिम बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्न पाउनेछ । सुदूरपश्चिमले मङ्गलबार लुम्बिनी लायन्ससँग चार विकेटको पराजय व्यहोरेको थियो ।