मंसिर ५, २०८३ शनिबार

दाङ, ५ मङ्सिरः दाङको तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीकी ४२ वर्षीया सन्ध्या पौडेलले आजभोलि महिलालाई चप्पल कसरी बनाउने भन्नेबारे सीप सिकाउन व्यस्त हुनुहुन्छ ।

तुलसीपुर उपमहानगरपालिका–६ बरुवा गाउँमा उहाँले खोलेको ‘सन्ध्या लेडिज चप्पल तालिम केन्द्र’मा मार्फत महिलालाई चप्पल बनाउने सीप सिकाउन व्यस्त हुनुभएको हो ।

उहाँले महिलालाई विभिन्न समूह बनाएर  तीनहजार पाँचसयदेखि पाँच हजारसम्म शुल्क लिएर सीप प्रदान गरिरहेको बताउनुभयो ।

उहाँले गतवर्षदेखि सुरु गरेको चप्पल बनाउने तालिम केन्द्रबाट हालसम्म २०० भन्दा बढी महिलालाई  सीप प्रदान गरिएको बताउनुभयो । त्यहाँ सिकेको सीप महिलले आफनो गाउँ तथा अन्य ठाउँमा गएर  आयआर्जन गर्न सक्ने भएको पौडेलले बताउनुभयो । पौडेलले महिलाले प्रयोग गर्ने  चप्पल, जुत्ता, सेन्डील, बेहुली चप्पल बनाएर बिक्री गर्ने गरेको जानकारी दिनुभयो ।

तालिमसँगै उहाँले चप्पल बिक्रीका लागि तुलसीपुर बजारमा पसल सञ्चालन गर्नुभएको छ ।

छोटो समयमै सीपमूलक तालिम र व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको पौडेल बताउँनुभयो । उहाँ भन्नुहुन्छ,“मेहनत र लगनशीलताका साथ काम गर्ने हो भने तीन महिनामै दुई लाख रुपैयाँसम्म आम्दानी गर्न  सकिदो रहेछ । उहाँले  तीजदेखि दशैतिहारको अवधिसम्म रु दुई लाखसम्मको जुत्ता चप्पल बिक्री गरिसकेको जानकारी दिनुभयो । 

उहाँले अहिले  आफूलाई महिला उद्यमीका रूपमा पनि चिनाउन सफल हुनुभएको छ ।

सीप नै आत्मनिर्भरता र समृद्धिको आधार  भएकाले सबैले सीप सिकेर सबैलाई स्वरोजगार बन्न सुझाव दिनुहुन्छ ।

स्थानीय तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा  वडा नं–७ मा गत वर्ष सञ्चालन गरिएका विभिन्न सीपमूलक तालिमबाट  पौडेलसहित धेरै महिला लाभान्वित भएका हुन् । तालिम लिएका केही महिलाले आफ्नै पेशा तथा व्यवसायसमेत सुरु गरिसकेका छन् ।

 

सीप सिकेर घरमै बसेर आम्दानी गर्न सकिने वातावरण निर्माण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको पौडेलको भनाइ छ । तालिमलाई व्यावसायिक उत्पादन र स्वरोजगारसँग जोड्दै महिलालाई आर्थिक रूपमा सक्षम बनाउने प्रयासमा उहाँ निरन्तर लागिरहनु भएको छ । चप्ल उद्योगकालागि आवश्यक पर्ने कच्चा सामग्री नेपालगञ्ज, बुटवल र काठमाडौँबाट ल्याउने गरेको बताउने पौडेले भन्नुहुन्छ, “यहाँबाट सीप सिकेर जानु भएका पाँचजना महिलाले अहिले आफँै ठाउँमा चप्पल बनाउँदै बिक्रीकालागि पसल सञ्चालन गरिसक्नु भएको छ ।” तुलसीपुर बसपार्कमा दुईजना, पश्चिम दाङको बबई गाउँपालिकाको हंसपुरमा एक जना, सल्यानमा एक  र रोल्पामा एकगरी पाँच ठाउँमा यस्ता पसल सञ्चालन भइसकेको पौडेलले बताउनुभयो। सुरुमा थोरै लगानीबाट सुरुवात गर्ने सकिने सीप आफुसँगै भएकाले सजिलो हुने उहाँको अनुभव छ ।

 

पौडेलको उद्यमशीलता चप्पल बनाउने तालिममा मात्र सीमित छैन। उहाँले २०७८ सालदेखि नै तुलसीपुर बजारमा सर्फ, साबुन, बाटेको धूप, अगरबत्ती, हार्पिक तथा नुहाउने साबुन बनाउने तालिमसमेत प्रदान गर्दै आएकी छन् ।