काठमाडौँ, ७ मङ्सिर : काठमाडौँ महानगरपालिका आउँदो माघ १ गते भुइखेलमा आयोजना हुने सम्यक् महादानको तयारीमा जुटेको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले त्यस स्वयम्भू भुइख्य (भुइखेल) को स्थलगत निरीक्षण गर्नुभएको छ । मूल समारोह समितिका पदाधिकारीसहित धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलापसँग सम्बन्धित प्रतिनिधि, सुरक्षा निकाय, सरोकारवाला र स्थानीयले उक्त क्षेत्रको अवलोकन गर्नुभएको हो ।
अवलोकनपछि मूल समारोहको समेत संयोजक रहनुभएका कार्यवाहक प्रमुख डङ्गोल लामो समयसम्म महादानका कार्यक्रम नहुँदा परम्परागत क्रियाकलापसँग सम्बन्धित स्थानमा आएको परिवर्तनलाई व्यवस्थापन गर्ने सन्दर्भमा स्थानीयको सुझाव महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभयो ।
कामनपा– १५ का अध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो, “भुइख्यका विभिन्न स्थानमा रहेका शिलाका मण्लमा भगवान् दीपङ्करको मूर्ति राख्ने चलन छ । भुइख्यको पश्चिमतर्फ सम्यक् भोजन तथा प्रसाद बनाउने चलन छ । धर्मचक्र पार्कसँगैको पलेस्वाँ पोखरीको दक्षिणतर्फ तथा भुइँख्यको उत्तरतर्फ राष्ट्र प्रमुख रहने मञ्च निर्माण गर्ने चलन छ ।”
उहाँका अनुसार, तीन दिन मनाइने महादानको पहिलो दिन हनुमान ढोका पुरानो राजप्रसाद (दरबार) परिसरमा, दोस्रो दिन र तेस्रो दिन स्वयम्भूको भुइखेलमा मनाइने परम्परा छ । तेस्रो दिनको कार्यक्रमलाई मिसा (महिला) सम्यक् भन्ने चलन छ । महादान पछिल्लो पटक व्यक्ति विशेषबाट विस २०५८ र गुठिबाट विसं २०६१ मा आयोजना गरिएको थियो ।
बौद्ध धर्मावलम्बीले गर्ने हरेक धार्मिक क्रियाकलापमा दान कार्य प्राय: अनिवार्य रुपमा समावेश हुने गरेको छ । सम्यक् महादान नेपाली मौलिकता भएको दान परम्परा हो ।