काठमाडौँ, ७ मङ्सिर : राष्ट्रिय खेलकुद प्रतियोगितालाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्न आवश्यक रङ्गशाला निर्माण तथा स्तरोन्नतिका विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको छलफलमा रङ्गशाला निर्माणका लागि लगानीको ढाँचा, जग्गा लिजमा दिने प्रक्रिया तथा प्राविधिक मापदण्डबारे विमर्श भएको थियो । छलफलमा सरकारले सीमित बजेटबाट मैदान सम्याउनेलगायत आधारभूत पूर्वाधार तयार गरी सर्तसहित लिजमा दिने वा निजी क्षेत्रलाई जग्गा लिजमा दिएर निर्माणको सम्पूर्ण जिम्मेवारी दिने दुई विकल्पमाथि विचार गरिएको थियो ।
मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाट खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताउनुभयो । उहाँले सरकारले आधारभूत पूर्वाधार तयार गरेर सरोकारवाला पक्षलाई लिजमा उपलब्ध गराउँदा रङ्गशालाको स्तरोन्नति गर्न सहज हुने उल्लेख गर्नुभयो ।
फाप्ला रङ्गशालाको ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उहाँले यही हप्ताभित्र नेपाल प्रिमियर लिग (एनपिएल) का सम्बन्धित टोलीका सञ्चालकसँग छलफल गरी आधारभूत आवश्यकता पहिचान र लिज सम्झौताको प्रक्रिया अघि बढाइने बताउनुभयो ।
बैठकमा एनपिएलको छैटौँ संस्करणसम्म ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यका व्यावहारिक तथा प्राविधिक पक्षबारे पनि समीक्षा गरिएको थियो ।
फुटबलको तुलनामा क्रिकेटमा पुनरावलोकन प्रणालीलगायत प्रविधि जडान गर्न बढी खर्च लाग्ने भएकाले आठवटै मैदानमा एकैपटक आवश्यक प्रविधि जडान गर्न चुनौतीपूर्ण हुने निष्कर्ष निकालिएको छ । यद्यपि, ठूला सहरबाट क्रमश: प्रविधि विस्तार गर्न सकिनेमा छलफलमा जोड दिइएको थियो ।
प्रस्तावित रङ्गशाला तथा मैदान ठूला प्रतियोगिता सञ्चालनमा मात्र सीमित नराखी नियमित अभ्यास, खेलकुद एकेडेमी, स्थानीय लिग तथा तल्लो तहका खेल गतिविधि विस्तारमा समेत उपयोग गर्नुपर्नेमा बैठकले जोड दिएको थियो ।