विराटनगर, ७ मङ्सिर : लामो समयदेखि अलपत्र परेको भोजपुर र उदयपुर जोड्ने दूधकोशी नदीमाथिको चुहार मोटरेबल पुल २०८४ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता प्रदेश सरकारले जनाएको छ ।
पुलको डिजाइन संशोधनसँगै लागत बढाउने प्रस्ताव (भेरिएसन) स्वीकृत भएपछि निर्माण कार्य अघि बढ्ने भएको हो । बाढीको जोखिमलाई ध्यानमा राखी पुरानो डिजाइनभन्दा पुलको उचाइ एक मिटर बढाइएको छ । यसबाट निर्माण लागत रु चार करोड ८५ लाखले वृद्धि भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता तथा पूर्वअर्थमन्त्री इन्द्रबहादुर आङ्बोलगायतको टोलीले सो स्थानको स्थलगत निरीक्षण पछि सो निष्कर्षमा पुगेको हो । टोलीले स्थानीय बासिन्दा र निर्माण व्यवसायीसँग छलफल गर्दै पुल निर्माण अब नरोकिने विश्वास दिलाएको हो ।
मुख्यमन्त्री कार्की र मन्त्री आचार्यले बजेट अभाव हुन नदिई निर्धारित समयमै आयोजना सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । उहाँले निर्माण व्यवसायीलाई पनि तोकिएको समयभित्र काम सक्न निर्देशन दिँदै समयसीमाभित्र काम पूरा नभए ठेक्का सम्झौता तोडेर कानुनी प्रक्रियाबाट आयोजना अघि बढाइने चेतावनी दिनुभएको छ ।
कोशी प्रदेश पूर्वाधार विकास निर्देशनालयका निर्देशक इन्जिनियर सुशिल श्रेष्ठका अनुसार भेरिएसन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढ्नेछ । उहाँले अबको १८ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीका प्रतिनिधिले पनि व्यक्त गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीको जोखिमलाई ध्यानमा राखेर पुलको पुरानो डिजाइनभन्दा उचाइ एक मिटर बढाइएको हो । उचाइ बढाउँदा प्रयोग हुने फलामको परिमाणसमेत बढेकाले लागत संशोधन गर्नुपरेको हो । पुल निर्माण हुने स्थान भने परिवर्तन गरिएको छैन ।
नाब्बे मिटर लामो र साढे १० मिटर चौडा स्टिल ट्रस पुलको सुरुको ठेक्का रकम रु २१ करोड २३ लाख १२ हजार थियो । भेरिएसनपछि लागत बढेर रु २६ करोड आठ लाख ३६ हजार पुगेको छ ।
अहिले उक्त पुलको भौतिक प्रगति १९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति १९ दशमलव ५० प्रतिशत रहेको छ ।
उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी र भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरको चुहार जोड्ने यो पुल नबन्दा दक्षिणी भोजपुरका हतुवागढी, रामप्रसाद राई र आमचोक गाउँपालिकाका नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । नदीमा मोटरेबल पुल नहुँदा सामान भरियामार्फत ओसार्नुपर्ने र तराईका बजारसम्म पुग्न लामो दूरी घुम्नुपर्ने बाध्यता छ ।
पुल बनेपछि दक्षिणी भोजपुरका बासिन्दालाई उदयपुर हुँदै धरान, इटहरीलगायत तराईका बजारसम्म पुग्न सहज हुनेछ । कृषि उपजको ढुवानी, व्यापार, उपचार तथा दैनिक आवागमनमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ । २०७७ असोज २६ मा शिलान्यास भएको पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो ।