मंसिर १०, २०८३ बिहिबार

झापा, १० मङ्सिरः मेचीनगर नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिने भएको छ । 

    मानवसेवा आश्रम र नगरपालिकाको संयुक्त पहलमा यही मङ्सिर १५ गते घोषणाका लागि आवश्यक तयारी भइरहेको मानवसेवा आश्रम झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

    हालसम्म मेचीनगर नगरपालिकाभित्रबाट १०६ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने उद्देश्यसहित मानवसेवा आश्रम र नगरपालिकाबीच दुई महिनाअघि सम्झौता भएको थियो । सम्झौतापछि नगरपालिकाका विभिन्न क्षेत्रबाट नियमित रूपमा उद्धार सेवा सञ्चालन हुँदै आएको छ ।

    विसं २०८१ मङ्सिर २३ गते विधिवत् रूपमा सञ्चालनमा आएको मानवसेवा आश्रम झापा शाखामा हाल १०३ जना आश्रित रहेका छन् । तीमध्ये ३४ जना महिला र ६९ जना पुरुष रहेका उहाँले बताउनुभयो । आश्रमले हालसम्म झापाका विभिन्न स्थानबाट २२६ जनाको उद्धार गरी ११५ जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको जनाएको छ ।