फागुन ४, २०७७ मंगलबार

हलो र गोरुको पूजा

 श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानलेजाहलो र गोरुको पूजा  गरेका छन्। पराम्परागत रूपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरूआत मान्दै आज दिन हलो र गोरुको पूजा गरेका हुन्।

किसानले आ(आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायत वस्तुहरूसहित हलो राखेर पूजाआजा गरेका छन्। साथै घरबाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर तिनको पूजा गरेका छन्।

किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजीकैको खेतमा लगेर आज एकछिन जोत्ने गर्दछन्। आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्ने गर्दछन्। उनीहरूले हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन्।​

श्रीपञ्चमीका अवसरमा किसानले अरवा चावलमा सक्खर मिलाएर प्रसाद तयार पार्दछन्। हलो र गोरुको पूजा गरिसकेपछि हलो जोत्ने, एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्दछन्।​​

मिथिलाञ्चलका किसान आजका दिनबाट आफ्नो खेतीपाती शुरू भएको समेत मान्दछन् भने आजैका दिनबाट आ(आफ्ना बाँझो खेतबारीसमेत जोत्न शुभारम्भ गर्दछन्। हलोगोरु पूजाका अवसरमा गाउँगाउँमा सयौँ गोरु एकैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरै रूपमा राखेर गइरहेको हेर्दा सबैको मन खुशीले गद्‌गद् हुन्छ।

हलो र गोरु पूजा जिल्ला सदरमुकाम जलेश्वरलगायत जिल्लाको १० नगरपालिका, पाँच गाउँपालिका गरी १५ स्थानीय तहमा भइरहेको छ।