संयुक्त राष्ट्रसंघ, १० मङ्सिर: गाजामा खानेपानी तथा सरसफाइको संकट गहिरिँदै जाँदा मेनिन्जाइटिस (मस्तिष्क तथा मेरुदण्डको झिल्लीमा हुने संक्रमण) का बिरामी बढ्न थालेका छन् । यसैबीच, वेस्ट बैंकमा प्यालेस्टिनी नागरिकको विस्थापन पनि जारी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार गाजामा मेनिन्जाइटिसका ५३३ भन्दा बढी घटना देखिएका छन् भने यससँग सम्बन्धित चार जनाको मृत्यु भएको छ । अक्टोबरको मध्य र अन्त्यतिर संक्रमण तीव्र रूपमा बढेको थियो । संक्रमितमध्ये अधिकांश एक वर्षभन्दा कम उमेरका शिशु रहेका छन् ।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार सन् २०२६ को सुरुदेखि हालसम्म मेनिन्जाइटिसका कारण १५ जनाको मृत्यु भइसकेको छ। अत्यधिक भीडभाड, खानेपानी तथा ढल निकासका संरचनामा क्षति, दूषित पानीको सम्भावना र कमजोर सरसफाइलाई संक्रमण बढ्नुका प्रमुख कारण मानिएको छ ।
प्रयोगशालाको सीमित क्षमताका कारण भाइरल र ब्याक्टेरियल मेनिन्जाइटिस छुट्याउन कठिन भइरहेको डब्लूएचओले जनाएको छ । यसले प्रभावकारी उपचार तथा नियन्त्रणका प्रयासमा समेत ढिलाइ भइरहेको छ ।
यसैबीच, वेस्ट बैंकको जोर्डन भ्यालीस्थित खिरबेत सम्रा क्षेत्रमा इजरायली अधिकारीहरूले बाँकी रहेका ४४ वटा संरचना भत्काएका छन्। संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार यसबाट त्यहाँ बसोबास गर्दै आएका १९ जना विस्थापित भएका छन्। विस्थापित हुनेमा सात बालबालिका छन् ।
सन् २०२६ मा हालसम्म जोर्डन भ्यालीमा बस्ती विस्तारसँग सम्बन्धित हिंसा, आवतजावतमा प्रतिबन्ध तथा भवन निर्माण अनुमतिसम्बन्धी कारणले १ हजार ५६७ जना विस्थापित भएका छन् । वेस्ट बैंकभर यही अवधिमा करिब पाँच हजार मानिस विस्थापित भएको राष्ट्रसंघको तथ्यांक छ ।
राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानुनअनुसार कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा रहेका सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न र उल्लंघनमा संलग्नलाई जवाफदेही बनाउन पुनः आग्रह गरेको छ ।