काठमाडौं, ; प्रहरीले पक्राउ गरेका खुवालुङ संरक्षण अभियानका दिनेश काम्दुङ खुम्बु र साजन राईलाई रिहा गर्न खुवालुङ संरक्षण क्षेत्र समीति र किरात राई विद्यार्थी संघले माग गरेकाछन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले सप्तकोशी क्षेत्रमा बोट सञ्चालन गरिरहेकाहरुको उजुरीका आधारमा दिनेश र साजन २७ फागुनमा पक्राउ गरेको थियो । छलफलका लागि भन्दै प्रहरीले बराह क्षेत्र नगरपालिका वडा नं १ का अध्यक्ष शुरेष श्रेष्ठलाई पनि बोलाएको बताएको छ ।
समितिकी सचिव दिला राईले बिहीबार एक विज्ञप्ति जारी गरी निदेश र साजनलाई विनासर्त २४ घटाभित्रमा रिहाइ गर्न प्रहरी प्रशासनलाई अल्टिमेटम समेत दिएकी छन् । पक्राउ गरिएका अभियान्ताहरुलाई २४ घण्टाभित्रमा रिहाइ नगरे खुवालुङ संरक्षणका पक्षधर विभिन्न संघसंस्थाहरुले निर्णायक आन्दोलन गर्ने र सोबाट हुन सक्ने क्षति राज्य प्रशासनले लिनुपर्ने चेतावनी पनि दिइएको छ । जेटबोट सञ्चालकहरुले अरुण, तमोर र दुधकोशीको त्रिवेणीमा रहेको खुवालुङ क्षेत्रमा जेटबोट लैजान नमान्दा जेटबोट सञ्चालक र दिनेशबीच सामान्य विवाद भएको थियो ।
सोही विवादका आधारमा प्रहरीले दिनेश र साजनलाई पक्राउ गरेको हो । छलफलका लागि भन्दै बोलाएपनि प्रहरीले पक्राउ गरेको भन्दै समीतिले आपत्ती जनाएको छ । ‘दिनेश काम्दुङ राई (खम्बु) र अभियान्ता साजन राईलाई छलफल गर्न भनी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा बोलाइ माथिको आदेश भन्दै छलफल गराउनुको सट्टा हिरासतमा राखी मुद्दाको प्रक्रिया अघि बढाएकोप्रति खुवालुङ क्षेत्र संरक्षण समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘उक्त विषयलाई सहज समाधान गर्नुको सट्टा विषयान्तर गरी सुनियोजित रुपमा षडयन्त्रमूलक ढंगबाट अभियानकर्मीहरुलाई राज्य प्रशासनले विभेदपूर्ण ढंगबाट पक्राउ गरिएको यस घटना हामी सम्पूर्ण सरोकारवाला पक्षका लागि कुनै पनि हिसाबले स्वीकार्य छैन ।
यस किसिमको रबैयाप्रति खेद् व्यक्त गर्दछौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ८ गते विराटनगरमा आयोजित आमसभामा खुवालुङ फुटाएर जेटबोट चलाउने उदेघोष गरेका थिए । किरातहरुको सांस्कृतिक र मिथ जोडिएको खुवालुङ ढुंगा फुटाउने घोषणा गरेपछि किरातहरु आन्दोलित भएका थिए । किराँत सभ्यता र मुन्दुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । वराह क्षेत्र नजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन् । दिनेश र साजनलाई प्रहरीले माथिको आदेश भन्दै पक्राउ गरेकोमा आपत्त जनाउँदै किरात राई विद्यार्थी संघले पनि विज्ञप्ती जारी गरेको छ । विद्यार्थी संघले पक्राउ परेका अभियन्तालाई विनासर्त रिहाई नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।
‘खुवालुंङ क्षेत्र संरक्षणको आन्दोलनलाई कम्जोर बनाउने हेतुले पुर्बाग्राही ढंगले सुनियोजित र षडयन्त्रपुर्बक गिरफ्तार गरिएको अभियान्ताहरुलाई बिनासर्त अविलम्ब रिहा गर्न हामि जोडदार माग गर्दछौ,’ विज्ञप्तीमा लेखिएको छ, ‘अन्यथा हामि जस्तो सुकै खाले मूल्य चुकाउन र आन्दोलन गर्न बाध्य हुने जानकारी गराउदै उक्त आन्दोलन तथा संघर्षबाट उतपन्न क्षति तथा परिणामको जिम्मा सम्बन्धित निकायले नै लिनु पर्ने समेत जानकारी गराउदछौ ।’ संरक्षण समीतिकी सचिव दिला राईका अनुसार बोट सञ्चालकहरुसंग भएको विवादमा यस अगाडी नै सहमती भएपनि प्रहरीले माथिको आदेश भन्दै दिनेश र साजनलाई प क्राउ गरेको हो ।
प्रधानमन्त्री ओलीले खुवालुङ फुटाउने उद्घोष गरेपछि आन्दोलति भएका किरातहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पनि खुवालुङ नफुटाउन माग गर्दै ज्ञापनपत्र पनि बुझाईसकेकाछन् ।