मंसिर ११, २०८३ शुक्रबार

काठमाडौँ, ११ मङ्सिरः विपद्का सूचनालाई गम्भीरताका आधारमा वर्गीकरण गरी सर्वसाधारणले सहजै बुझ्नेगरी सम्प्रेषण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

    ‘रसुवा–भोटेकोशी बाढीलगायतका विपद्मा पूर्वसूचना प्रणालीः अनुभव, सिकाइ र प्राथमिकता’ विषयक कार्यशालाका वक्ताहरूले विपद्का बेला प्रभावकारी सूचना सम्प्रेषण, पूर्वसूचनाको विश्वसनीयता र सञ्चारमाध्यमको भूमिकालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

    सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव शिवकुमार पोख्रेलले विपद्को गम्भीरताका आधारमा सोहीअनुसार पूर्वसूचना जारी गर्नुपर्ने बताउनुभयो । विपद्का बेला आधिकारिक सूचना सम्प्रेषणका लागि छुट्टै आपत्कालीन सञ्चार टोली गठन गरेर काम गर्नुपर्ने उहाँको भनाइ छ ।
 
    विपद्का कारण टेलिफोन, विद्युत्, रेडियो तथा टेलिभिजनका टावरसमेत प्रभावित हुनसक्ने भएकाले सङ्कटका बेला आवश्यक पर्ने सञ्चार उपकरण तथा पूर्वाधारको सुरक्षामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले रसुवा बाढीका क्रममा तल्लो क्षेत्रका मानिसले सूचना पाए पनि त्यसलाई गम्भीरतापूर्वक नलिँदा मानवीय क्षति हुन पुगेको बताउनुभयो ।

    जलविज्ञान तथा जलस्रोत केन्द्रका वरिष्ठ जलविज्ञ विनोद पराजुलीले हिमाली क्षेत्रका मौसमी तथा हिमबाढीको अवस्थाबारे जानकारी लिन छिमेकी देश चीनसँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

    नेपाल मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले विभागले जारी गर्ने सूचना सर्वसाधारणले बुझ्न कठिन भएको तथा प्राविधिक शब्द बढी प्रयोग हुने गरेको गुनासो आएपछि अहिले पूर्वसूचना तथा एसएमएस सन्देशलाई सरल र छोटो बनाइएको बताउनुभयो ।

कार्यशालामा सहभागीले मोबाइलमा विभिन्न प्रकारका सूचना निरन्तर आइरहने हुँदा मानिसमा सूचनाप्रति चासो घट्ने गरेको उल्लेख गर्दै विपद् सूचना पहिचान गर्न सकिने छुट्टै धुन वा सङ्केत विकास गर्नुपर्नेमा पनि जोड दिएका थिए ।