मंसिर ११, २०८३ शुक्रबार

क्यानबेरा, ११ मङ्सिर: तथ्याङ्क केन्द्र निर्माण तथा त्यसका लागि आवश्यक उपकरणमा व्यवसायीहरूले ठूलो लगानी बढाएपछि अस्ट्रेलियाको निजी क्षेत्रको नयाँ पुँजीगत खर्च १५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को सेप्टेम्बरमा समाप्त त्रैमासिक अवधिमा अस्ट्रेलियाको निजी क्षेत्रको नयाँ पुँजीगत खर्च अघिल्लो त्रैमासिकको तुलनामा १२.२ प्रतिशतले बढेको छ । सन् २०११ यताकै सबैभन्दा ठूलो त्रैमासिक वृद्धि भएको यो तथ्याङ्क हो ।

अस्ट्रेलियाली तथ्याङ्क विभागका व्यावसायिक तथ्याङ्क प्रमुख रोबर्ट इविङका अनुसार तथ्याङ्क केन्द्रका लागि आवश्यक उपकरणमा भएको उल्लेखनीय लगानीका कारण पुँजीगत खर्चमा वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा पुँजीगत खर्च १८.६ प्रतिशतले बढेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सन् २०२५ को सेप्टेम्बर त्रैमासिकदेखि नै व्यवसायीहरूले ठूलो परिमाणमा सर्भर र्याक तथा तथ्याङ्क प्रशोधन गर्ने उपकरण खरिद गर्न थालेपछि समग्र लगानीमा तीव्र वृद्धि देखिएको हो ।

इविङले पछिल्लो त्रैमासिकमा भएको वृद्धि सन् २०११ को सेप्टेम्बरपछि सबैभन्दा उच्च रहेको बताउनुभयो । सन् २०११ मा खानी क्षेत्रमा भएको ठूलो लगानीका कारण अस्ट्रेलियाको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि भएको थियो ।

पछिल्लो तथ्याङ्कअनुसार सूचना सञ्चारमाध्यम तथा दूरसञ्चार क्षेत्रमा सबैभन्दा बढी लगानी वृद्धि भएको छ । उक्त क्षेत्रमा सेप्टेम्बर त्रैमासिकमा लगानी ८६.७ प्रतिशतले बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।

त्यसैगरी नयाँ उपकरण तथा मेसिनरी खरिदमा हुने खर्च २३.१ प्रतिशतले बढेको छ । यसमा सूचना सञ्चारमाध्यम तथा दूरसञ्चार क्षेत्रमा भएको १८३.५ प्रतिशतको लगानी वृद्धिको प्रमुख योगदान रहेको अस्ट्रेलियाली तथ्याङ्क विभागले जनाएको छ ।

भवन तथा संरचना निर्माणमा हुने खर्च पनि समीक्षा अवधिमा १.७ प्रतिशतले बढेको छ । विद्युत्, ग्यास, पानी तथा फोहोर व्यवस्थापन सेवासँग सम्बन्धित क्षेत्र र सूचना सञ्चारमाध्यम तथा दूरसञ्चार क्षेत्रमा भवन निर्माणसम्बन्धी लगानी अहिलेसम्मकै उच्च पुगेको तथ्याङ्कले देखाएको छ ।

इविङका अनुसार भवन तथा संरचनामा भएको लगानी वृद्धिमा नवीकरणीय ऊर्जा परियोजना र तथ्याङ्क केन्द्र निर्माणको महत्त्वपूर्ण योगदान रहेको छ । यस्ता परियोजनासँग सम्बन्धित विद्युत् भण्डारण तथा प्रसारण पूर्वाधार निर्माणले पनि लगानी वृद्धि गर्न सहयोग पुर्‍याएको उहाँले बताउनुभएको छ ।

पछिल्लो समय तथ्याङ्क केन्द्रहरूको विस्तारसँगै सर्भर, तथ्याङ्क प्रशोधन उपकरण, विद्युत् आपूर्ति तथा भण्डारण प्रणालीमा व्यवसायीहरूको लगानी बढिरहेको छ । यसले अस्ट्रेलियाको निजी क्षेत्रको पुँजीगत खर्चमा समेत उल्लेखनीय प्रभाव पारेको सरकारी तथ्याङ्कले देखाएको छ ।