कास्की, १४ मङ्सिरः गण्डकी प्रदेश सरकारले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्ने प्रदेशका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शनका लागि प्रोत्साहित गर्ने उद्देश्यले प्रदेश सरकारले पदकअनुसार पुरस्कार रकम घोषणा गरेको हो । कर्णाली प्रदेशको सुर्खेतमा यही मङ्सिर १६ गतेदेखि औपचारिक रूपमा सुरु हुने प्रतियोगितामा व्यक्तिगत विधातर्फ स्वर्ण पदक विजेताले रु एक लाख, रजत पदक विजेताले रु ५० हजार र कास्य पदक विजेताले रु २५ हजार नगद पुरस्कार पाउनेछन् ।
त्यस्तै, समूहगत खेलतर्फ स्वर्ण पदक जित्ने खेलाडीले जनही रु ५० हजार, रजत पदक विजेताले रु २५ हजार र कास्य पदक विजेताले जनही रु १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रदेश खेलकुद परिषद्का निमित्त सदस्यसचिव विनय थापाका अनुसार कुनै व्यक्तिगत स्पर्धामा एउटै खेलाडीले एकभन्दा बढी पदक प्राप्त गरेमा थप पदकका लागि समूहगत स्पर्धामा तोकिएअनुसारको पुरस्कार उपलब्ध गराइनेछ ।
त्यसैगरी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय वा अन्तरराष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई जनही रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ । प्रदेश सरकारले खेलाडीको प्रदर्शनलाई मात्र नभई उनीहरूलाई प्रशिक्षण दिने प्रशिक्षक तथा टोली व्यवस्थापनमा खटिने व्यवस्थापकलाई समेत पुरस्कारबाट प्रोत्साहित गर्ने नीति लिएको छ ।
स्वर्ण पदक जित्ने टोलीका मुख्य प्रशिक्षकलाई रु ४० हजार तथा सहायक प्रशिक्षक र व्यवस्थापकलाई जनही रु २० हजार प्रदान गरिनेछ । रजत पदक विजेता टोलीका मुख्य प्रशिक्षकले रु २० हजार तथा सहायक प्रशिक्षक र व्यवस्थापकले जनही रु १० हजार पाउनेछन् ।
त्यस्तै, कास्य पदक विजेता टोलीका मुख्य प्रशिक्षकलाई रु १० हजार तथा सहायक प्रशिक्षक र व्यवस्थापकलाई जनही रु पाँच हजार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशको टोलीलाई बिदाइ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलाडीको मनोबल उच्च बनाउन र खेल क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पदक विजेता खेलाडीलाई प्रोत्साहित गर्न निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थालाई समेत सम्मान र पुरस्कारका कार्यक्रम ल्याउन आग्रह गरिएको जानकारी दिनुभयो ।
“खेलाडीको मनोबल उच्च राख्न र हौसला प्रदान गर्न पदक जितेर फर्किएपछि विभिन्न सङ्घसंस्थालाई सम्मानका लागि हामीले आग्रह गरेका छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँले खेलाडी तथा प्रशिक्षकको बिमा, औषधोपचार र कल्याणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि आगामी दिनमा लगानी थप बढाउँदै लैजाने बताउनुभयो ।
प्रदेश सरकारले खेलाडीको हित र सुरक्षाका लागि खेलाडी कल्याणकारी कोषको व्यवस्थासमेत गरेको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री पाण्डेले गण्डकीका खेलाडीले अन्य प्रदेशको तुलनामा अनुशासित र मर्यादित ढङ्गले आफ्नो खेल कौशल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सामाजिक विकासमन्त्री रेखा गुरुङले दसौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशहरूमध्ये पहिलो स्थान हासिल गरेको गण्डकीले यसपटक पनि सोही नतिजालाई निरन्तरता दिने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
“गण्डकी नवौँ राष्ट्रिय खेलकुदमा प्रदेशहरूमध्ये पहिलो बनेको थियो । त्यो नतिजा दसौँ राष्ट्रिय खेलकुदमा समेत कायम गर्ने अपेक्षा गरेका छौँ”, मन्त्री गुरुङले भन्नुभयो । दसौँ राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलमध्ये गण्डकी प्रदेशले कुस्तीबाहेक ३१ खेलमा सहभागिता जनाउनेछ । प्रदेशबाट प्रतियोगितामा ६३६ खेलाडी, ७९ प्रशिक्षक, ३९ टिम व्यवस्थापक र तीन सदस्यीय मेडिकल टोली सहभागी हुनेछन् । यसबाहेक खेल पदाधिकारी तथा सञ्चारकर्मीको समेत सहभागिता रहनेछ ।
गण्डकीले नवौँ राष्ट्रिय खेलकुदमा हासिल गरेको सफलता दोहोर्याउने लक्ष्यसहित यसपटक मैदानमा उत्रने तयारी गरेको छ । तर छोटो समयमा खेलाडीले तयारी गर्न पाएका छैनन् । घरेलु भूमिमा चार वर्षअघि भएको नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी १२० पदक जितेर समग्रमा विभागीय टोलीहरू पछि चौथो र प्रदेशहरूमा पहिलो बनेको थियो ।