बङ्गलादेशसँगको टेस्ट शृङ्खला पाकिस्तानले जितेको छ । आज बुधवार सकिएको दोस्रो टेस्ट एक इनिङ्स र आठ रनले जितेसँगै दुई खेलको शृङ्खला पाकिस्तानले दुई–शून्यले जितेको हो । पहिलो टेस्ट पाकिस्तानले आठ विकेटले जितेको थियो ।
दोस्रो पारीमा बङ्गलादेशले दुई सय पाँच रनमात्रै बनाउन सकेपछि खेल पाकिस्तानले जितेको हो । बङ्गलादेशका लागि शाकिब अल हसनले ६३, मुशफिकर रहिमले ४८ र लिटन दासले ४५ रन बनाए । बलिङतर्फ पाकिस्तानका साजिद खानले चार विकेट लिँदा शाहीन अफ्रिदी र हसन अलीले एक–एक विकेट लिए ।
पहिलो पारीमा पाकिस्तानले चार विकेट गुमाउँदै तीन सय रन बनाउँदा पारी सकिएको घोषणा गरेको थियो । पाकिस्तानका लागि बाबर अजमले ७६, अजहर अलीले ५६, मोहम्मद रिजवनले ५३ र फवाद आलमले ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका तइजुल इस्लामले दुई विकेट लिँदा इबादोत हुसेन र खलिल अहमदले एक–एक विकेट लिए ।
बङ्गलादेश भने पहिलो पारीमा ८७ रनमै अलआउट हुँदै दुई सय १३ रनले पछि पर्दै फलोअनमा परेको थियो । बङ्गलादेश ८७ रनमा अलआउट हुँदा शकिब अल हसनले ३३ र नजमुल हुसेन शान्तोले ३० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ पाकिस्तानका साजिद खानले आठ विकेट लिँदा शाहीन अफ्रिदीले एक विकेट लिए ।
यसअघि यी दुईबीच भएको तीन खेलको टी–२० शृङ्खला पाकिस्तानले 'क्लिन स्वीप' गरेको थियो ।