सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) र सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाले थप शान्ति सैनिक पठाउने भएको छ।
कारमा जाने गण र सुडान जाने गुल्मस्तरीय टोलीलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तयारी अवस्थामा राखिएको छ। करिब तीन महिनाभित्र सो टोली गइसक्ने छ।
मिसनमा टोली जानुपूर्वको तालिम निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक कार्यालय न्युयोर्कको ६ सदस्यीय टोली ६ मङ्सिरमा काठमाडौं आएर फर्केको छ। सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालका अनुसार कारमा जान प्रमुख सेनानीको नेतृत्वमा चार सय ५० जनाको गणस्तरीय टोली मिसनमा जान तयारी अवस्थामा छ ।