मंसिर २४, २०७८ शुक्रबार

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । 

दशरथ रङ्गशालामा चौथो चरण अन्तर्गत आज शुक्रवार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई दुई–शून्य गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको छ ।

फ्रेन्ड्सविरुद्ध आक्रामक खेल पस्किएको मनाङले दुवै हाफमा एक–एक गोल गर्‍यो । मनाङलाई जिताउन आफिज ओलावाले र दिनेश राजवंशीले एक–एक गोल गरे । आफिजले खेलको ४१ औँ मिनेटमा र दिनेशले ७३ औँ मिनेटमा गोल गरे ।

यो जितसँगै मनाङले चार खेलमा १० अङ्क जोडेको छ । प्रतियोगितामा मनाङको यो तेस्रो जित हो । फ्रेन्ड्स चार खेलमा दुई अङ्क जोडेर बाह्रौँ स्थानमा रहेको छ । फ्रेन्ड्सको यो दोस्रो हार हो ।

आजै बेलुका पौने ५ बजे त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब खेल्दैछन् ।