काठमाडौँ — नेपाली सेनाकी असिम बानियाँ नेपाली सेनामा पनि एपीसी चलाउने पहिलो महिला चालक हुन् । उनी संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा एपीसी (बख्तरबन्द गाडी) चलाउने भएकी छिन् । यूएन राष्ट्रसंघीय शान्ति मिसनको ६० वर्षभन्दा बढी अवधिमा नेपालबाट पहिलो पटक महिला सैनिकलाई एपीसी चलाउने अवसर आएको हो ।
२०६२ पुस १० मा सेवामा प्रवेश गरेकी बानियाँ प्युठ हुन् । उनी अहिले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ‘प्रि–डिप्लोयमेन्ट’ तालिम लिइरहेकी छन् । ‘सैनिक सेवामा प्रवेश गरेपछि नै मैले ड्राइभिङ गर्ने अवसर पाएँ । मेरो कामको मूल्यांकन गरेरै युनिटले मलाई हेभी ड्राइभिङ र त्यसपछि एपीसी ड्राइभिङको तालिममा पठाएको हुन सक्छ,’ बानियाँले नेपाली सेनाको ‘सिपाही पाक्षिक’ सँग भनेकी छन् ।