मंसिर २९, २०७८ बुधबार

भ्यालेटा : माल्टाले गाँजालाई वैधानिकता दिएको छ । माल्टाको संसद्ले मंगलबार साँझ गाँजालाई कानुनी मान्यता दिएसँगै अब त्यहाँका हरेक वयस्क समूहले सात ग्रामसम्म गाँजा बोक्न पाउने भएका छन् । गाँजालाई वैधानिकता दिने पक्षमा ३६ भोट प्राप्त भएको थियो भने विपक्षमा जम्मा २७ भोट प्राप्त भएको थियो ।
 
गाँजालाई कानुनी मान्यता दिनेमा माल्टा युरोपेली संघको पहिलो मुलुकसमेत बनेको छ । गाँजाले कानुनी मान्यता पाएसँगै माल्टाका वयस्क समूहले सात ग्रामसम्म गाँजा बोक्न पाउनेछन् भने हरेकले आफ्नो घरमा ४ वटा गाँजाको बोट रोप्न पाउनेछन् ।

यद्यपि, माल्टाले बालबालिकाको अगाडि र सार्वजनिक स्थलमा भने गाँजा सेवन गर्न भने अनुमति दिएको छैन । सार्वजनिक स्थल र १८ वर्षभन्दा मुनिको उमेर समूहले गाँजा सेवन गरेमा २३५ युरो देखि ५ सय युरोसम्म जरिवाना हुने बताइएको छ ।

युरोपेली मुलुक नेदरल्याण्डले भने यसअघि नै गाँजालाई कानुनी मान्यता दिएको थियो । जर्मनी, लक्जेम्वर्ग र स्विजरल्याण्डलगायत अन्य मुलुकले पनि गाँजालाई वैधानिकता दिने योजना बनाइरहेको बताइएको छ ।