मंसिर २९, २०७८ बुधबार

नेपालगञ्ज, मङ्सिर २९ गते । पश्चिम नेपालमै पहिलो पटक बाँकेमा कागज उद्योग स्थापना शुरु भएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले बाँकेको राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा तीन अर्ब पचास करोड रुपियाँ लगानीमा एक्सीलेण्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग सञ्चालन हुन लागेको हो ।

एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले दुई वर्षभित्र उद्योग सञ्चालन गर्नेगरी कामहरू शुरु गरिएको बताए । त्यसका लागि २२ बिघा जग्गा खरिद गरेर डीपीआरका लागि कन्सल्टेन्टसमेत नियुक्त गरिसकेको छ ।

देशमा भएको एउटै कागज उद्योग भृकुटी कागज कारखाना बन्द भएपछि देश परनिर्भर बनेको उल्लेख गर्दै भण्डारीले यो उद्योग नेपालका लागि गौरवको उद्योग हुने बताउँदै फोटोकपी पेपर, म्याफ्लिथो पेपरलगायत सबैखालका गुणस्तरीय कागज उत्पादन गरी नेपालको आयातलाई केही हदसम्म रोक्न सफल हुने दाबी गरे ।

५२ करोड प्रारम्भिक लगानीका लागि पहिलो पटकको सेयर निस्काशनसमेत भइसकेको जानकारी दिँदै अध्यक्ष भण्डारीले दैनिक ५० टनको कटन मिक्स वेष्ट पेपरबाट रिसाइकल प्लान्ट स्थापना गरिने जानकारी दिए ।