पुस १, २०७८ बिहिबार

संयुक्त राष्ट्रसंघले एकीकृत लैंगिक समानता रणनीतिअनुसार शान्ति मिसनमा सहभागी हुने महिला सैनिक कन्टिनजेन्टतर्फ ८ प्रतिशत पुर्‍याउन नेपाली सेनालाई आग्रह गरेपछि नेपाली सेनाले युएन मिशनमा महिला सैनिकको सङ्ख्या बढाउन थालेको छ । गण र गुल्मको बटालियन लिएर जाने सैनिक समूह ‘कन्टिनजेन्ट’तर्फ ८ प्रतिशत महिला सैनिक पुर्‍याउनेगरी जङ्गी अड्डाले तयारी गरिरहेको छ । सो लक्ष्य पूरा गर्नेगरी काम भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रसंघका १२ वटा मिसनमा अहिले २२२ जना महिला सैनिक खटिएका छन् । शान्ति मिशनमा पुरुष र महिलासमेत कुल ५ हजार २१९ जना सैनिक सहभागी छन् । कन्टिनजेन्टतर्फ सहभागी ३ दशमलव ९१ प्रतिशत महिलाको संख्या बढाएर २०२१ भित्र ८ प्रतिशत पुर्‍याउन राष्ट्रसंघले सेनालाई आग्रह गरेको थियो ।