पुस १, २०७८ बिहिबार

काठमाडौं : बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। यस दिन ३७ अंकले घटेर २३ सय ७६.७४ विन्दुमा बन्द भएको छ। कारोबारको अधिल्लो दिन बुधबार पनि नेप्से ४ अंकले घटेर २४ सय १४ विन्दुमा बन्द भएको थियो।

यस्तै सेन्सेटिभ इण्डेक्स पनि घटेको छ। ५.८८ अंकले घटेर ४५३.५३ विन्दुमा अडेको छ। यसदिन २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता सेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ रुपैयाँमा खरिदबिक्री भयो।

आज १ समूहको मात्र सेयर मूल्य बढेको छ। म्युच्युअल फण्डको ०.५७ प्रतिशतले सेयर मूल्य बढेको हो। बाँकी १२ समूहको परिसूचक ओरालो लागेको छ। यस दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक ३.६६ प्रतिशतले घटेको छ। बाँकी अन्य समूहको ३.०१ प्रतिशतसम्म घटेको छ।

यसदिन कारोबार रकमका आधारमा प्रभु बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ४३ लाख  ८६ हजार रुपैयाँभन्दा बढी मृल्यमा सेयर कारोबार भयो। ७० करोड बढीको कारोबार गरी नेपाल बंगलादेश बैंक दोस्रो र ६९ करोडको कारोबार गरी समृद्धि फाइनान्स तेस्रो स्थानमा रह्यो।

मंगलबार सेयर बजारमा उछाल आउँदा सकारात्मक सर्किट लागेको थियो । तर फेरि बुधबार नेप्से सामान्य अंकले ओरालो लाग्यो। लामो समयदेखि बजारमा उतावचढाव जारी छ। अहिले सेयरको मूल्य निकै सस्तो भइसकेको अवस्था छ।

लगानीकर्ताहरू सस्तो मूल्यमा सेयर बिक्री गर्ने मुडमा छैनन्। यसकारण पनि कारोबार रकम बढ्न नसकेको हो।