काठमाडौं । विश्व हिन्दू महासंघमा निवर्तमान अध्यक्ष र कार्यवाहक अध्यक्षबीच विवाद देखिएको छ ।
महासंघकी कार्यबाहक अध्यक्ष अस्मिता भण्डारीले निवर्तमान अध्यक्ष चक्रबन्धु अर्यालले गरे गराएका सम्पूर्ण कार्यहरूप्रति आपत्ति जनाएकी छिन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेकी छिन् "महासभा सम्पन्न भएपश्चात् पूर्व पदाधिकारीहरूकाे पदावधि स्वत: समाप्त भएको हुदाँ मिति २०७८ मङ्सिर २६ गते महासभापछि अधिकारविहीन भइसकेका व्यक्तिले 'निमित्त अध्यक्ष हुँँ' भनी गरे गराएका सबै कार्यहरू अमान्य हुने बेहाेरा जानकारी गराउदछाैँ ।" अर्यालले गरेका कामहरू उनले विज्ञप्तिमा उल्लेख भने गरेकी छैनन् । साथै उनले भ्रामक कार्यकाे विश्वास गरी कुनै कार्य नगर्न नगराउन अनुरोधसमेत गरेकी छिन् ।
मङ्सिर २५ गते काठमाडौंमा सम्पन्न महासंघको महासभाले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि कार्यबाहक अध्यक्षमा अस्मिता भण्डारीलाई चयन गरेको थियो ।