फागुन २९, २०७७ शनिबार

काठमाडौं : झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बस आज शनिबार बिहान ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको छ ।

मकवानपुरमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बस र ट्रकमा सवार रहेकामध्ये १० जना घाइते भएका छन् । काठमाडौंतर्फ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो । हेटौँडा नारायणगढ सडकखण्ड अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ मा भएको दुर्घटनामा बस चालकसहित तीन जनाले ज्यान गुमाएका हुन् ।

दुर्घटनामा परेर बसका चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वाका अभयलाल कुसुवाह र भारत विहारका सुनिल कुमार रहेको मकवानपुर प्रहरीका डीएसपी जयश्वर रिमालले बताए । दुर्घटनामा परेर गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारक क्रममा बिहान ५ बजेतिर ज्यान गएको हो । बसमा सवार अभयलाललाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा गम्भीर भएका सुनिललाई पनि पुरानो मेडिकल कलेज भरतपुर पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका छन् ।

दुर्घटनामा परेर ट्रकका चालक, सहचालकसहित तीन र बसमा सवार रहेका सात जना घाइते भएका छन् । १० जना नै घाइतेहरुको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको डीएसपी रिमालले बताए ।

प्रहरीका अनुसार बसमा ३५ जना यात्रु सवार रहेको अनुमान छ । बसमा सवार तीन जनाको मृत्यु भएको र सात जना घाइते भए पनि अरु यात्रु भने सकुशल रहेको रिमालको भनाइ छ । उनले घटनाका बारेमा गम्भीर रुपमा अनुसन्धान थालिएको जनाएको छ । रिमालले दुर्घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाए