फागुन २९, २०७७ शनिबार

नरमाया (प्रज्ञा) ढकाल /
नारामा हेर्ने हो भने महिला अधिकार र समानताका हिसाबले नेपाली महिला धेरै अगाडी हुनुपर्ने हो । संविधान बनाउन गठन भएको संविधानसभामा महिला सहभागिता अभुतपुर्व रहेको भन्दै खुशी मनाइयो । राजनीतिक दलहरुले दक्षिण एसियामै नेपाल महिलालाई संसदमा स्थान दिने देशको सुचीमा अगाडी रहेको दाबा गरे । महिलाको उल्लेख्य सहभागिता भएको संविधानसभाले संविधान पनि जारी ग¥यो । हाल देशमा लागु भइरहेको संविधान महिला अधिकारका दृष्टिकोणले सबैभन्दा राम्रो संविधान भएको महिला सभासदहरुले दाबी पनि गर्नुभयो । राजनीतिक प्रतिनिधित्वका हिसावले हिजोभन्दा आज महिलाको सँख्या बढेको पनि छ । सभामुख र उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, स्थानीय तहमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, मृयर र उपमेयरमा एक जना महिला अनिवार्य हुनैपर्ने व्यवस्था संविधानमा गरिएको छ संघदेखि प्रदेश र स्थानीय सरकारसम्म महिला अहिले निर्णायक स्थानमा छन् । यसलाई सकारात्मक परिवर्तनका रुपमा लिनसकिन्छ ।
मुक्त कमलरी शान्ता चौधरीदेखि उमादेवी वादी सांसद हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी महिला नै हुनुहुन्छ । सुशीला कार्की नेपालको न्यायपालिकामा प्रधानन्यायाधीश बन्ने पहिलो महिला हुँदै विदा भइसक्नुभएको छ । अनुराधा कोइरालादेखि पुष्पा बस्नेत सम्म सीएनएन हिरोजस्ता अन्तर्राष्ट्रिय अवार्डले सम्मानित भइसक्नुभएको छ । भर्खरै १९ वर्षीय सपना रोका मगर बीबीसीको ‘बीबीसी हन्ड्रेड विमिन’ को सुचीमा पर्नुभएको छ । पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी देखि राष्ट्रपति विद्यादेवी भण्डारीसम्म आइपुग्दा राज्यको महत्वपुर्ण ओहदामा महिलाहरु पुगिसकेका छन् । आधा आकाश ओगट्ने महिलाले भुमिका पाउनु आफैमा खुशीको विषय हो । 

तर, यो खुशी भन्दा नेपाली महिलाहरुलाई कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको घटना बिझाइरहन्छ । ०७४ साउन १० गते भउको निर्मला हत्यामा संलग्न दोषीहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । सपना रोका मगर ‘बीबीसी हन्ड्रेड विमिन’को सुचीमा परेको खुशीमा रमाउन नपाउँदै  महोत्तरीको बर्दिबासमा ६ वर्षीय बालिकाको बलात्कारपछि हत्याको घटनाले स्तब्ध बन्न विवश तुल्याउँछ ।  

जबसम्म भुइँतहमा रहेका महिलाहरुले आफनो अधिकारको बारेमा बुझदैनन्, हिँसाको विषयमा जान्दैनन् तबसम्म महिला हिंसाको घटनामा कमी आउँदैन । हिंसा भएपनि त्यसको कानुनी उपचार खोज्ने हिम्मत जबसम्म विकास हुँदैन, अपराधी मनोविज्ञान भएकाहरुले त्यसको फाइदा उठाइरहन्छन् । महिला हिंसामा संलग्नलाई समाजबाटै बहिष्कार गर्नुपर्छ । ताकी भोली अर्को कसैले महिलामाथि हिंसा गर्ने दुस्साहस नगरोस् । 
 

महान्यायाधिवक्ता कार्यालयको आर्थीक वर्ष ०७५÷७६ को तथ्यांकअनुसार नेपालमा २ हजार ७ सय ५३ महिला बलात्कृत भएका छन् । जसमा करिब आधा अर्थात  १ हजार २ सय ३२ त बालिका नै छन् । सन्दर्भ महिला हिंसाविरुद्धको १६ दिने अभियानको जोडौं । अहिले अन्तर्राष्ट्रिय रूपमा ‘ओरेन्ज द वल्र्ड : फन्ड, रेस्पोन्ड, प्रेभेन्ट, कलेक्ट’ नाराका साथ अभियान जारी छ । नेपालमा यस वर्ष ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ नाराका साथ अभियान चलिरहेको छ । विश्वभर हरेक वर्ष २५ नोभेम्बरदेखि १६ दिन यो अभियान चल्ने गर्छ ।  यो अभियानको मुल उद्देश्य महिलाविरुद्ध हुने हिंसा, विभेद, र अन्यायको अन्त्य गर्नु हो । यस्ता अभियानले जनचेतना जगाउन भुमिका खेलेकै छ । तर, अपेक्षाकृत परिणाम दिन नसकेको महिला हिंसाका पछिल्ला घटनाले देखाउँछ । महिला हिंसाका घटनामा कमी आएको छैन । अभियान चलिरहेकै बेला देशमा घटेका महिला हिंसाका घटना त्यसका प्रमाण हुन् । 
महिलामाथी हुने अधिकांस हिंसामध्ये घरेलु हिंसानै बढी हुने गरेको छ । महिला हिंसाविरुद्धको अभियान चलेकै बेला सार्वजनिक भएका केही रिपोर्टहरुले थप झस्काएको छ । नेपाली समाजमा महिला कति असुरक्षित हुँदै गरेका छन् भन्ने डरलाग्दो चित्र ती तथ्यहरुले देखाएका छन् । 

सुदुरपश्चिम प्रदेशमा मात्र पछिल्लो ४ महिनामा १०७ वटा बलात्कारमा घटना दर्ता भएका छन् । स्मरणीय छ, सुदुरपश्चिम त्यही प्रदेश हो,  जहाँ १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । अहिलेसम्म पनि बलात्कारपछि हत्या गर्ने अपराधीहरु पक्राउ परेका छैनन् । महान्यायाधिवक्ता र प्रहरीसँग रहेको तथ्यांकअनुसार दैनिक ६ महिला बलात्कारको शिकार हुने गरेका छन् । 

हिंसाका स्वरुपहरु भुगोलअनुसार भिन्न छन् । सुदुरको छाउपडी होस वा मधेसलाई पिरोलिरहने दहेज प्रथा । वा पहाडमा हुने महिलाको श्रम शोषण । सबैतिर महिला प्रताडित छन् । देशको भुगोलभित्र मात्र होइन आफ्नो परिवार र सन्तानका लागि विदेशी भुमिमा श्रम बेच्न पुग्ने महिलामाथी भइरहेका हिंसा झन् डरलाग्दो छ । देशभित्रै त बलातकार पछि हत्या गर्ने अपराधी पक्राउ गर्ने दायित्वमा सफल हुन नसकेको सरकार विदेशी भुमिमा रहेका चेलीहरुसम्म के पुग्थ्यो ? उनीहरु आँशु पिएर हिंसा सहन विवश छन् । कतिपयले हिंसा सहन नसकेर विदेशी भुमिमै आत्महत्याको बाटो रोज्ने गरेका खबरहरुले मन भारी बनाउँछ । तर, जसलाई छुनुपर्ने हो उसको मन सायद ढुँगाको हुनुपर्छ । महिला हिंसाका यस्ता दर्दानक घटनाले उनीहरुले कहिल्यै छोएन । 
महिला हिंसा र उपेक्षाको क्रम घरबाटै शुरुहुन्छ । छोरालाई बोर्डिङ, छोरीलाई सरकारी स्कुलको चलन अझै गाउँगाउँमा छ । ‘अर्काको घर जाने जात’ भन्न अझै छोडिएको छैन । छोरी मात्र जन्मँदा श्रीमानले ‘कान्छी’ ल्याउने चलन ताजै छ । भनेजति दहेज नल्याउँदा पत्नीलाई आगो लगाउने दहेज प्रथा उस्तै छ । कानुनले बन्देज लगाएपनि बाल विवाह समाजमा खुलै छ । कुनै अवसरका लागि महिलाले सम्झौता गर्नुपर्ने अवस्था हरक्षेत्रमा प्रतिशत धेरथोर होला, छँदैछ । अबेर राती निर्धक्क हिँड्न पाउने त परकै कुरा भयो । 

यी यावत विषयहरुमा निर्मम समिक्षा नगरि महिला हिंसाविरुद्दको अभियानमा झाँकी प्रदर्शन वा पाँच तारे होटलमा सेमिनार गरेर परिणाम आउनेवाला छैन । हिंसामा परेकाहरुलाई आफुमाथि भइरहेको हिंसा हो भन्ने सम्म थाहा पाउने अवस्था छैन । पहिला , के हो हिंसा ? हिंसा भएमा के गर्ने ? भन्नेबारेनै सचेतनाको खाँचो छ । धार्मिक, साँस्कृतिक, सामाजिक र राजनीतिक रुपमा भइरहेका घटना के के छन् ? तिनलाई कसरी निरुपण गर्ने ?  संविधानको पानामा सुरक्षित गरिएको महिला अधिकारको विषयलाई घरघरसम्म कसरी पुयाउने ? यो आजको ज्वलन्त मुद्दा हो । यस्ता अभियानहरु व नारीसँग जोडिएका विभिन्न दिवसहरुलाई महिला आन्दोलनकै रुपमा मनाउन जरुरी छ । हिंसाको शिकार भएकी महिला घटना बाहिर आउँदा समाजको पनि तिरस्कारमा पर्ने अवस्था छ । बलात्कृत महिलासँग वैवाहिक सम्बन्धका लागि कोही तयार नहुने अवस्था छ । यसले कतिपय महिलाहरु पीडित भएपनि आफ्नो पीडा लुकाएरै बस्न विवश छन् ।  हिंसामा परेकाहरु सामाजिक र मनोवैज्ञानिक रुपमा सुरक्षित रहेको आभाष दिनसक्नुपर्छ । त्यसो भएमा हिंसाका घटनाहरु लुकनेछैनन र वास्तविक दोषीको कुरुप अनुहार समाजमा नांगिनेछ । यसतर्फ पनि महिला हिंसाविरुद्दका अभियानहरु केन्द्रीत हुनुपर्दछ । 

जबसम्म भुइँतहमा रहेका महिलाहरुले आफनो अधिकारको बारेमा बुझदैनन्, हिँसाको विषयमा जान्दैनन् तबसम्म महिला हिंसाको घटनामा कमी आउँदैन । हिंसा भएपनि त्यसको कानुनी उपचार खोज्ने हिम्मत जबसम्म विकास हुँदैन, अपराधी मनोविज्ञान भएकाहरुले त्यसको फाइदा उठाइरहन्छन् । महिला हिंसामा संलग्नलाई समाजबाटै बहिष्कार गर्नुपर्छ । ताकी भोली अर्को कसैले महिलामाथि हिंसा गर्ने दुस्साहस नगरोस् । 

(प्रतिनिधिसभा सांसद ढकाल जनता समाजवादी पार्टीकी केन्द्रिय सदस्य हुन्)