पुस ३, २०७८ शनिबार

 काठमाडौं जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसर प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले पाएका छन्। यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएकाले गिरी महानगरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका हुन्।

उनलाई यसअघि नै सरुवा गरिएको भए पनि अहिले मात्र कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। गिरी प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट परिसरको नेतृत्व लिन आएका हुन्। भैरहवा विमानस्थलमा दरवन्दी सिर्जना गरिए पनि कार्यान्वयनको चरणमा नगएकाले हाललाई सिंह प्रहरी प्रधान कार्यालयमै रहनेछन्।

प्रहरी प्रधान कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखमा एसएसपी सुरेन्द्र मैनालीलाई सरुवा गरी पठाइएको छ। हालका प्रमुख एसएसपी राजेश बाँस्तोला लामो विदामा गएकाले मैनालीलाई पठाइएको प्रवक्ता कुँवरले जानकारी दिए।