सुर्खेत । हुम्लाको सर्केगार्ड गाउँपालिका वडा नम्बर १ जैरको नात्ता गाउँकाका १८ वर्षीय चन्द्रे कामी तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
चन्द्रेले एक महिनाअघि छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिका–१ लिप्रु गाउँकी सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका चन्द्रेले करिब एक महिना अघि सुन्तलीलाई भगाएर मुगुबाट ल्याएपछि परम्पराअनुसार विवाह गरेर बुहारी भित्र्याएको तर त्यसको एक महिनामै छोरा सम्पर्कविहीन भएकाले त्रास बढेको परिवारले जनाएको छ ।
चन्द्रेले अन्तरजातीय विवाह गरेको र त्यसपछि केटी पक्षले अपहरण गरी उनलाई बेपत्ता बनाएको चन्द्रेको परिवारले आरोप लगाएको छ ।
सर्केगार्ड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढाले मंसिर २९ गते बुधबार राति करिब १२ बजेतिर सुन्तलीका माइती पक्षका मान्छे आएर राती नै दुई जनालाई जबरजस्ती लगेको बताए ।
उनीहरूले चन्द्रेको हात पिठ्युमा बाँधेर नाङ्गै बनाएर कुट्दै लगेको खबर आफूले पाएको तर रातीको समय भएकाले कसैले रोक्न नसकेको उनले बताए ।
तर माइती पक्षले त्यो दिन गएको समूहले चन्द्रेलाई कुनै अपहरण नगरेको बताएको छ । सुन्तलीका आफन्त प्रकाश मल्लले त्यो दिन गएर आफ्नो चेलीलाई ल्याएर मात्रै आएको र चन्द्रेलाई घरमै छोडेको बताए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले घटनाको जानकारी आउनासाथ खोजी कार्य जारी रहेको जनाएको छ ।