पुस ५, २०७८ सोमबार

काबुल : पूर्वअफगानिस्तान सरकारका पालामा विभिन्न सुरक्षा क्षेत्रमा कार्यरत करिब ५ हजार अफगान महिला सैनिक तालिवान शासन पुन: लागू भएपछि गुपचुप बनेका छन् ।

सन् २००१ मा तालिवान शासन पतन र पश्चिमा समर्थनको पूर्वअफगान सरकारको उदयसँगै देशमा नयाँ सैन्य बल बनेको थियो । सो सरकारले हजारौं अफगान महिलालाई देशको विभिन्न सुरक्षा निकायहरूमा भर्ना गराएको थियो ।

गत अगष्टमा अफगानिस्तानमा पुन: तालिवान शासन उदय हुँदा त्यहाँ कम्तीमा ५ हजार अफगान महिला सैनिकहरू देशको विभिन्न सुरक्षा निकायमा कार्यरत थिए । रक्षा मन्त्रालय र सेना, आन्तरिक मामिला मन्त्रालय र प्रहरी, राष्ट्रिय सुरक्षा निर्देशनालय अर्थात् अफगानिस्तानको सिभिल प्रहरीका रूपमा ५ हजार महिला सैनिक खटिएका थिए ।

अफगानिस्तानमा तालिवान सरकारले पुन: शासन चलाएसँगै विभिन्न सुरक्षा निकायका विभिन्न पदमा कार्यरत ती महिला सैनिकहरू गुपचुप रूपमा काम गरिरहेको भाइस न्युजमा समाचार छ ।भाइस न्युजमा प्रकाशित समाचारअनुसार तालिवानको पुन: उदयसँगै कैयौं अफगान महिला सैनिकले आफ्नो जागिर छोडेका छन् भने कयौं महिला अझै गुपचुप रूपमा आफ्नो क्षेत्रमा खटिएका छन् ।


तालिवानको सरकारपछि हरेक अफगान महिला सैनिकले तालिवानको धम्कीसँगै गुपचुप रूपमा काम गर्नु परेको बताइएको छ ।