काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार (आज) टियु मैदानमा भएको फाइनलमा अर्को विभागीय टोली शस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
एपीएफले दिएको १ सय ६ रनको विजयी लक्ष्य पक्षयाएको पुलिसले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । पुलिसलाई जिताउन सुनिल धमलाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अनिल साह र कुशल भुर्तेलले समान १५ रन बनाए । दिपेन्द्र सिंह ऐरी ११ रन बनाए ।
यता एपीएफका अविनास बोहरा र भुवन कार्कीले १-१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो ।
एपीएफका लागि बसन्त रेग्मीले २२ रन सन्दीप जोरा , अमर रौटेलाले १८/१८ रन,भुवन कार्कीले १४ रन जोड्दा अविनास बोहराले १२ रन बनाए । शंकर राना र सुमित महर्जन समान ४ रनमा आउट भए ।कमल ऐरी १ रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे ।
त्यस्तै कप्तान शरद भेषवाकर र आसिफ शेख सुन्य रनमा आउट भए । एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले ४/ ४ विकेट लिए । गुल्सनले ३६ रन खर्चिदा सागरले २८ रन खर्चिए । पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए ।
उपाधिसँगै पुलिसले ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ३ लाखमा चित्त बुझाउन बाध्य बन्यो ।