नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ ।
महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रवार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै ब्याजदर तत्काल फिर्ता लिन माग गरे ।
‘बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ,’ अध्यक्ष कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उनले कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः बैंकको ब्याजदरका कारण समस्या खेपिरहेको बताए । उद्योग व्यवसाय गर्नेहरूले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था नभएको उनको भनाइ छ ।
पछिल्लो समय बैंकले तरलता अभावका बहानामा उद्योगी व्यवसायीलाई ऋण अड्काउने, मनपरी ढंगले ब्याजदर बढाउने लगायत भइरहेका गतिविधिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
