पुस ११, २०७८ आइतबार

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौड्यालले बहाली गरेका छन  । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन्  । यही निर्णयअनुसार राजेश्वर ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका थिए  ।

पदबहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले, भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्चत गर्नु पर्ने बताए  । पदीय जिम्मेवारी पूरा गर्दै व्यक्तिगत प्रयासबाट समूहको हित हुने काम गर्नुपर्ने पौड्यालको भनाइ थियो ।

त्यस क्रममा प्रशासन विभागका प्रमुख महेश काफ्लेले स्वागत कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवा र स्थानीय प्रशासनमा प्रमुख प्रशासकीय अधिकृत पौड्यालको अनुभवबाट काठमाडौँ महानगरको सार्वजनिक छवि बढाउनमा सहयोग पुग्ने बताएका छन  ।

२०५३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेर  पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव भएका  पौड्याल ले  स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रहेर काम गरिसकेका छन ।