पुस ११, २०७८ आइतबार

 प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले जितेको छ ।

धनगढीमा सम्पन्न फाइनलमा प्रदेश नम्बर १ लाई ७ विकेटले पराजित गर्दै महिला तर्फको उपाधि एपीएफले हात पारेको हो । प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ ओभर २ बलमा मात्र ३ विकेट क्षतिमा पूरा गर्यो । एपीएफको जितमा ज्योति पाण्डेले अविजित ३६ रन र ममता चौधरीले अविजित १९ रनको योगदान दिए । प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट हात पारिन् ।

टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरको खेल समाप्ति हुँदा ६ विकेटको क्षतिमा ६७ रनको योगफल तयार गरेको थियो । उसकाल लागि कप्तान रुबिनाले सर्वाधिक ३४ रन जोडिन् । अप्सरी बेगमले ११ रन जोडेबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर खडा गर्न सकेनन् । बलिङतर्फ एपीएफकी सिता राना मगरले ३ विकेट लिइन् भने   रेखा रावलले २ तथा करुणा भण्डारीले १ विकेट लिए । 

उपाधिसँगै एपीएफले नगद ५ लाख पुरस्कार समेत प्राप्त गरेको छ ।