पुस १३, २०७८ मंगलबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा छोटो समयमै अकुत सम्पत्ति आर्जन गर्न सेयर बजार र घरजग्गा किनबेचमा लगानी हुने गरेको बताएका छन्।

उनले प्रतिवेदनमा भनेका छन् 'उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन्। वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरूको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो, उत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै, मिहिनेत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने, नाफा पनि कम आउने कारणले नै पुँजीपतिहरूले अरूको सम्पत्ति हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न पुँजीलाई सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका छन्।'

उत्पादन क्षेत्रमा लगानी गरेर नाफा कमाउने पहिलेको मुद्रा(माल.मुद्राको स्थान अब लगानी गरेर सिधै मुद्रै कमाउने प्रक्रियाले लिएको उनले उल्लेख गरेका छन् ।

उनले केहि दिन अघि पनि एक कार्यक्रममा पुँजीबजार लाई साम्यवादको साधन भनेपनि उनको चर्को विरोध भएको थियो । बिरोधपछि प्रचण्डले आँफु नेपालका लाखौँ सेयर लगानीकर्ताहरुको हितको पक्षमा रहेको भन्दै विज्ञप्ती समेत निकालेका थिए ।