पुस १३, २०७८ मंगलबार

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले नेपालमा शेयर बजारबारे असम्बन्धित व्यक्तिले बोलिरहेका कारण बजार विकास हुन नसकेको बताउनुभएको छ । राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि शेयर बजारलाई जुवा घर, अनुत्पादक क्षेत्र र सम्राराज्यवादको विस्तारित रूप भनिरहँदा पनि बजार विकास हुन नसकेको उहाँले बताउनुभयो ।

आज मङ्गलवार हामीसँगको कुराकानीमा पूर्वगभर्नर नेपालले शेयर बजार एकदमै संवेदनशील क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरूले यस विषयमा बोल्नुपर्ने आवश्यक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशमा राजनीतिक दलका प्रमुख नेतृत्व नै शेयर बजारको विषयमा गलत प्रचार गर्दछन् । साम्यवादी र प्रगतिशील विचार भएका मन्त्रीहरू कसैले शेयर बजार जुवा घर हो भन्ने, कसैले अनुत्पादक क्षेत्र र साम्राराज्यवादको विस्तारित रूप भन्ने गरेका छन् । यसरी माथिल्लो तहका देश सञ्चालन गर्ने व्यक्तिहरूले बेला–बेलामा दिएका अभिव्यक्तिले संवेदनशील शेयर बजारमा असर परेको छ । शेयर बजार संवेदनशील क्षेत्र भएकाले सानो चिजले पनि लगानीकर्तामा असर गर्ने गरेको छ । लगानीकर्ता अत्तिरहेका पनि हुन्छन् भने हैसिएका पनि हुन्छन् । त्यसैले शेयर बजारका विषयमा माथिल्लो तहमा बसेका देश सञ्चालन गर्ने व्यक्तिहरूले बोल्दै नबोल्दिए राम्रो हुन्छ । उहाँहरूले बोल्नुपर्ने आवश्यक पनि हुँदैन ।’

पूर्वगभर्नर नेपालले शेयर बजारमा बदमासी गर्नेहरूलाई कारबाही गर्ने कानुन नहुँदा पनि शेयर बजार सुधार हुन नसकेको बताउनुभयो । ‘शेयर बजारमा बैंक तथा वित्तीय संस्था संस्थाले नराम्रो काम गरे कारबाही हुन्छ । शेयर बजारमा बदमासी गरेकोलाई अहिलेसम्म कुनै कारबाही भएको छ रुअहिलेसम्म त्यस्तो छैन । यो विषयमा सबैलाई थाहा छ । बदमासी गर्दा कारबाही पनि नहुँदा शेयर बजार राम्रोसँग विकास हुन सकेको छैन । शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको आफ्नै भवन छैन । १० ठाउँबाट कार्यालयको काम भइरहेको छ । यो स्थितिमा शेयर बजारको प्रमुख नै छैनन् । ४५ खर्बको बजार ४५ लाख लगानीकर्ता समावेश भएको ठाँउमा चार महिनासम्म प्रमुख नहुँदा कस्तो असर पर्छ रु शेयर बजार सबैभन्दा धेरै आर्थिक क्रियाकलाप हुने क्षेत्र हो तर यसमा कसैको ध्यान गएको जस्तो लाग्दैन । त्यसैले ३२ सय अङ्कमा पुगेको नेप्से अहिले घटेर २३ सयको हाराहारीमा पुग्यो ।’ शेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रूपमा विकास हुन नसेकेको बताउनुभएको छ । आज मङ्गलवारको कुराकानीमा पूर्वगभर्नर नेपालले गएको सात वर्ष अगाडि शेयर बजारको विकास र विस्तारका लागि परिर्वतन भए पनि त्यसपछि कुनै परिवर्तन नभएको बताउनुभएको हो’, उहाँले भन्नुभयो । 

पूर्वगभर्नर नेपालले लामो समयदेखि पुँजी बजारको विकासका लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु शेयर लगानीकर्ताको लागि राम्रो नभएको बताउनुभयो । पूर्वगभर्नर नेपालले पछिल्लो समय शेयर बजारमा लगानीकर्ता उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिला पहिला नागरिताको फोटोकपी बनाएर बोरा–बोरामा पैसा बेकेर शेयरमा लगानी गर्ने गरिन्थ्यो । यस्तो व्यवस्था हटाएर मैले सबै बैंकमा खाता खोलेर बैंकिङ प्रणालीमार्फत कारोबार सुरु गर्ने काम गरेको थिएँ । तर त्यसपछि जुन गतिमा शेयर बजारको विकास हुनुपर्ने हो, त्यो भएको छैन । बजारमा नयाँ–नयाँ लगानीकर्ता प्रवेश गरे तर लगानीकर्ता बजारमा प्रवेश गरे पनि बजार सुरक्षित रूपमा अगाडि बढ्न सकेको छैन । सुरक्षित रूपमा अगाडि बढ्नका लागि विश्वमा शेयर बजारमा भएका नयाँ–नयाँ सफ्टवेयरदेखि लिएर नियम–कानुन पनि नेपालमा ल्याउनुपर्छ ।’

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर बजारलाई सहयोग नगरेको भने पनि बैंक सधैँ बजारप्रति सकारात्मक रहेको उहाँको भनाइ छ । उहाँले मौद्रिक नीतिमा ४र१२ करोड रुपैयाँको सीमा तोक्ने समय गलत भएको बताउनुभयो । अब नेप्सेलाई सरकारले निजी साझेदारीका रूपमा अगाडि बढाएर विकास र विस्तार गर्नुपर्ने समय आएको पूर्वगभर्नर नेपालले बताउनुभयो ।

पूर्वगभर्नर नेपालले विश्वमा नै शेयर बजार अन्तर्राष्ट्रिय रूपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था भएको बताउनुभयो ।