पुस १५, २०७८ बिहिबार

पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले वंशजको आधारमा बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्।

उनको नागरिकता सनाखत गर्न पूर्वयुवराज्ञी हिमानी शाह प्रशासनमा पुगेकी थिइन्।

नेपालको संविधानअनुसार बुवा वा आमा दुवैको नामबाट नागरिकता प्राप्त गर्न सकिन्छ।

‘उहाँले वंशजको आधारमा नागरिकता लिनुभएको हो, सनाखत गर्न आमा आउनुभएको हो,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने।

छोरीले नागरिकता लिँदा पूर्वयुवराज पारस भने गएका थिएनन्। यसअघि जेठी छोरी पूर्णिकाले नागरिकता लिँदा पनि सनाखत गर्न हिमानी नै गएकी थिइन्।

नेपालमा पहिला राज परिवारका सदस्यले नागरिकता लिनु नपर्ने व्यवस्था थियो। २०६५ गणतन्त्र घोषणा भएपछि पनि पूर्वराजपरिवारका सदस्यको नागरिकताबारे स्पष्ट व्यवस्था थिएन ।