कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य संस्थामा प्रसूती सेवा पाएका सुत्केरी महिलाहरूलाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ । सुत्केरी महिलाहरूको पोषण सुधारसँगै प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम गर्न कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सोमवार झलारी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको कार्यक्रममा नगरप्रमुख, उपप्रमुखलगायतका अतिथिहरूले सुत्केरी भएका महिलाहरुलाई अण्डा, घ्यूलगायतका पोषणयुक्त खानेकुरा वितरण गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख दिलबहादुर ऐरले स्वास्थ्य क्षेत्रलाई संरक्षण र सम्बर्द्धन गर्न नगरपालिका तयार रहेको बताए । चुनौतीलाई निराकरण गरी अघि बढिरहेको उनले जानकारी दिए । शुक्लाफाँटा नगरपालिका हरेक वडाहरूमा स्वास्थ्य संस्था नहरेको उल्लेख गर्दै नगर प्रमुख ऐरले महिलाहरूले समयमै पायक पर्ने स्वास्थ संस्थामा गर्भ जाँच गराउन आग्रह गरे । मातृ शिशुलाई न्यून गर्ने, स्वास्थ्य संस्थालाई संरक्षण गर्ने, शिशु बालबालिका तथा आमाहरूलाई संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यका साथ नगरपालिका अगाडि बढिरहेको जानकारी दिए । यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख तुलसीदेवी हमालले यो कार्यक्रम अगाडि नै गरिसकनुपर्ने भए पनि हालमात्रै शुभारम्भ भएको बताइन् । कार्यक्रमलाई थप प्रभावकारी बनाउन गर्भवती महिलाहरूले नियमित स्वास्थ्य संस्थामा चेकजाँच गरी सुत्केरी गराउनुपर्ने उपप्रमुख हमालले बताइन् ।सोमवार झलारी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर ऐरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।