पुस २२, २०७८ बिहिबार

बुधबार राति नेपालगन्ज उपमहानगरपालिका–१ स्थित राम जानकी मन्दिरबाट मूर्तिलगायतका विभिन्न सामान चोरी गर्ने एकजना पक्राउ परेका छन्। सोही वडाका २५ वर्षीय असरफ बागवानलाई वडा प्रहरी कार्यालय नेपालगन्जले पक्राउ गरेको हो।

भगवान्को मूर्ति तीन, घण्टी पाँच, नाग देवताको मूर्ति दुई थानसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी श्यामकृष्ण अधिकारीले जनाए। उनका अनुसार तामाको लोटा चार थान, त्रिशुल थान तीन, आरती एक, पाला छोप्ने ढक्कन आठ, पाला दुई, टीका राख्ने भाँडा एक, फलामको सिक्री एक, सानो आरी एक र रिन्च एक थान पनि बरामद गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साथै नेपाल–भारत सीमा क्षेत्र जुमनामा बेवारिसे अवस्थामा मूर्ति फेला परेको छ। बिहीबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका–१५, जमुनाहमा उक्त मूर्ति फेला परेको हो। कुनै मठ मन्दिर, संघसंस्था तथा कोही व्यक्तिको चोरी वा हराएको भएमा आवश्यक प्रमाणसहित सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय बाँकेले आग्रहसमेत गरेको छ। मूर्तिका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।