पुस २२, २०७८ बिहिबार

 घरेलु टोली अस्ट्रेलियाले एसेस सिरिजको चौथो खेलमा पनि आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ।​

इङल्यान्डविरुद्ध चौथो टेस्टमा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्रममा अस्ट्रेलियाले पहिलो इनिङमा राम्रो प्रदर्शन गर्‍यो।

दोस्रो दिन अस्ट्रेलियाले ८ विकेट गुमाएर ४ सय १६ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो।

दोस्रो दिन नै जवाफी इनिङ सुरु गरेको इङल्यान्ड दिनको समाप्तिमा १३ रन बनाएर अविजित रहेको छ। अस्ट्रेलियालाई पहिलो इनिङमा उच्च स्कोरमा पुर्‍याउन उसमान ख्वाजाले १ सय ३७ रनको शतकीय पारी खेले।

त्यस्तै स्टिभ स्मिथले ६७ रनको योगदान दिँदा ओपनर डेभिड वार्नरले ३० तथा मार्कुस हेनरिसले ३८ रनमा आउट भए। त्यस्तै मार्नुस लबुसेनले २८ रन बनाए।

कप्तान प्याट कमिन्स १४ रनमा आउट हुँदा एलेक्स क्यारी १३ रनमा आउट भए। मिचेल स्टर्क ३४ तथा नाथन लियोन १६ रनमा अविजित रहेका थिए।

इङल्यान्डका लागि स्टुआर्ट बोर्डले सर्वाधिक ५ विकेट लिँदा जेम्स एन्डरसन, मार्क उड, जो रुटले समान १(१ विकेट लिए।

पाँच खेलको टेस्ट सिरिज अस्ट्रेलियाले यसअघि नै ३(० ले जितिसकेको छ।