पुस २३, २०७८ शुक्रबार

 सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबारदेखि सुरु भएको आठौँ चरणको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटा र सातदोबाटोले १–१ गोल गरेका हुन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक–एक गोल गरेका थिए।

सातदोबाटोका लागि सुशील राईले गोल गर्दा उता संकटाका लागि जया गुरुङले बराबरी गोल फर्काएका थिए। खेलको २३औँ मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए। निरज बस्नेतको ब्याक पासमा गोलरक्षक राजाबाबु थापाले गल्ती गरेपछि राजाबाबुले क्लियर गरेको बल सुशीलको घुँडामा लाग्दै गोलमा परिणत भएको थियो।

सातदोबाटोको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको ३२औँ मिनेटमा संकटाका खेलाडी जयाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। दीपेश आलेमगरको पासलाई उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो।

खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि खेल एक–एक गोलको बराबरीमा टुंगिएको हो। यस बराबरी खेलसँगै अपराजित रहेको संकटा ८ खेलबाट १४ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ भने समान खेल खेलेको सातदोबाटो ९ अंक जोडेर अंक तालिकाको आठौँ स्थानमा पुगेको छ।