पुस २३, २०७८ शुक्रबार

इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित निकालेको छ। मिलानले गए राति रोमालाई ३–१ ले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा यथावत छ।

घरेलु मैदानमा मिलानलाई जिताउन ओलिभर जिरूउड, जुनियर मेसिएस र राफयल लियोले गोल गरे। रोमाका ट्याम्मी अब्राहमले एक गोल फर्काएका थिए।

मिलानोमा बिहीबार राति खेलको आठौं मिनेटमा जिरूउडले पेनाल्टी गोलबाट मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए। १७ औं मिनेटमा जुनियर मेसिएसले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे। 

४० औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा रोमा १० खेलाडीमा समेटियो। खेलको ७४ औं मिनेटमा रिक कार्सड्रप दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि खेलमा फर्कन नसकेको रोमाले ८२औं मिनेटमा तेस्रो गोल खायो। राफयल लियोले गोल गर्दै मिलानले अग्रता पुन दोब्बर बनाए। 

इन्ज्युरी समयमा रोमा ९ खेलाडीमा समेटियो। जियान लुका मान्सिनी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसमै प्राप्त पेनाल्टीमा ज्लाटन चुक्दा खेलमा अग्रता बढाउने मौका गुमाए।

यो जितसँगै मिलानले शीर्षस्थानको इन्टर मिलानसँगको अंक दुरी १ मा छोट्याएको छ। मिलानको २० खेलबाट ४५ अंक पुगेको छ। एक खेल कम खेलेको इन्टरको ४६ अंक छ। पराजित रोमा ३२ अंकसहित सातौं स्थानमा छ।