पुस २४, २०७८ शनिबार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा ३२ लाख ९० हजार ४ सय ३ रुपैया नाफा कमाउन सफल भएको छ । कार्यक्रममा आर्थिक वर्ष २०७७(७८ को वार्षिक प्रगती प्रतिवेदन संस्थाकी अध्यक्ष धनेश्वरी भट्टले प्रस्तुत गरेकी थिइन् । प्रस्तुत प्रगति विवरणमा ५ करोड ६७ लाख ५ हजार ५ सय रुपैया ऋण लगानी गरेको छ भने ४ करोड १ लाख ८७ हजार ७ सय ६५ रुपैया असुली गरेको छ । यस्तै संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ८१ लाख ७८ हजार ८ सय ९४ रुपैया व्याज असुली गरेको छ । संस्थामा हाल १३ सय ४० जना सदस्य रहेका छन् । यसैगरी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा ८ करोड बराबरको प्रस्तावित कार्यक्रम ल्याएको छ ।

 

शनिवार संस्थाकी अध्यक्ष धनेश्वरी भट्टको सभापतित्वमा वेष्ट प्वाइनट स्कुलको प्राङ्गण झलारीमा भएको सातौँ साधारण सभा कार्यक्रमका प्रमुख अतिथि सुदरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लालबहादुर खड्का रहेका थिए । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले अब सहकारीहरुले आफ्ना शेयर सदस्यहरूलाई कृषिमा आत्मनिर्भर बनाउने खालका कार्यक्रम अगाडि ल्याउनुपर्ने बताए । साथै उनले अब प्रत्येक नगरपालिकाका वडामा एउटा कृषि सहकारीको स्थापन गर्ने योजना रहेको जानकारी दिए । केही कमाइ खाने भाँडाका रूपमा सहकारीहरू स्थापना भइरहेकाले काम गर्ने सहकारीहरू ओझेलमा परिरहेको बताए । 

 कार्यक्रममा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुरसिंह महरा, वडा नम्बर ९ का वडाध्यक्ष रमेशबहादुर ऐर, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए । साथै कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ता प्रियास चन्द, सियोन ऐर, आँचल उप्रेती, निधि ऐर, प्रेरक जोशी, कञ्चन सिंह, रिजन ऐर, समीक्षा सिंह, संयम सिंह, भूमिका ऐर गरी १० जनालाई पुरस्कार वितरण गरिएको थियो । यस्तै सवैभन्दा बढी शेयर खरिद गर्ने गिताकुमारी ऐर, देवकी ऐर, तुलसी रावल र गाईपालक कृषक आशा धामीलाई समेत  पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष नारन्ती ऐरले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन राजेन्द्र ऐरले गरेका थिए ।